बालेन भन्छन्: मिचाहा वर्गले कानून मिचेर मोटाइरहने दिन सकिए - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बालेन भन्छन्: मिचाहा वर्गले कानून मिचेर मोटाइरहने दिन सकिए



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाइ रहन नदिइने बताएका छन्।

अनधिकृत संरचना हटाउने अभियान सुरू गरेका मेयर बालेनले मिचाहा प्रवृत्तिलाई नियन्त्रण गर्न कार्यकारिणी शक्तिको प्रयोग गर्ने विकल्प आफूहरूसँग खुला रहेको बताएका हुन्।

‘उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ आइतबार विज्ञप्ति जारी गरेर उनले भनेका छन्,‘मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथान नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरूपण गरी मिचाहालाई दण्डित गर्ने विकल्प पनि हामीसँग खुला छन्।’

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न आफूहरू अहिले रोकथाम र नियन्त्रणसम्बन्धी कारबाहीको चरणमा रहेको उनले बताएका छन्।

कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बसेका कारण अहिलेको अवस्था सिर्जना भएको बालेनको भनाइ छ।

उनले महानगरले कार्यकारिणी अधिकारको प्रयोग गरेर नै अनधिकृत संरचनाहरू हटाउने काम सुरू गरेको उल्लेख गरेका छन्।

‘कार्यकारिणीको अकर्मण्यताबाट सिर्जित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरू विकसित भएका हुन्,’ बालेनले भनेका छन्,‘तसर्थ न्यायिक निरूपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिन हुन हार्दिक अनुरोध गर्दछौं।’

गैरकानुनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिले रोकथान तथा नियन्त्रण र त्यसपछि मात्रै दोषीलाई कारबाही गर्न न्याय निरूपण गरिने उनले बताएका छन्।

‘कतिपयले अनधिकृत संरचना हटाउनुपूर्व न्यायिक निरूपणको पनि अपेक्षा गर्नु भएको रहेछ,’ बालेनले भनेका छन्,‘कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ।’