सर्वोच्चले बालेनलाई सोध्यो- तपाईंलाई कारबाही किन नगर्ने ? - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

सर्वोच्चले बालेनलाई सोध्यो- तपाईंलाई कारबाही किन नगर्ने ?



काठमाडौं- अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)लाई अदालतको अबहेलना गरेकोले किन कारबाही नगर्ने भन्दै कारण देखाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मेयर साह विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सोमबार कारण देखाउ आदेश दिएको हो।

नर्भिक इन्टरनेशनल अस्पतालले कानून विपरीत संरचना निर्माण गरेको भन्दै मेयर साहले भत्काउन पत्राचार गरेका थिए। त्यसका विरुद्ध नर्भिक अस्पताल सर्वोच्च पुगेको थियो।

नर्भिकको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यससँगै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

तर, मेयर साहले समाजिक सञ्जालमा त्यसको विरोध गर्दै लेखेका थिए। उनले भनेका थिए, ‘नक्शा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्शा पास गर्ने अधिकार बरू संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।”

मेयर बालेनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि आज सुनुवाइ गर्दै न्यायाधीश कार्कीले किन सजाय नहुने भन्दै लिखित जवाफ पेश गर्न आदेश दिएका हुन्।

सर्वोच्चको आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो? निवेदन माग बमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो?”

यससँगै सर्वोच्चले सात दिनभित्र लिखित जवाफ दिन पनि भनेको छ। “सोको आधार, कारण सहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नू,” आदेशमा उल्लेख छ।