बालेनको साहसिक कदम- १२४ रोपनी अवैध संरचना भत्काउने, टुकुचालाई पुरानै जस्तो बनाउने - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

बालेनको साहसिक कदम- १२४ रोपनी अवैध संरचना भत्काउने, टुकुचालाई पुरानै जस्तो बनाउने



काठमाडौंको बाँसबारी–महाराजगन्जबाट नारायणहिटी–जयनेपाल हल, थापाथली हुँदै बागमतीमा मिसिने टुकुचा (इच्छुमती) खोलाको एक सय २४ रोपनी अतिक्रमण भएको छ । व्यक्ति, सरकार र सार्वजनिक संघसंस्थाले खोला मिचेर ६ तलेसम्मका भवन ठड्याएर व्यापारिक प्रयोजनमा लगाएका छन् । काठमाडौं महानगरपालिकाले यस्ता अवैध संरचना भत्काउने अभियानको तयारी गरेको छ । टुकुचासँग जोडिएका अतिक्रमण गर्ने पाँच सय ८१ कित्ता जग्गाको सूची महानगरसँग छ ।

शिरदेखि नै टुकुचा अतिक्रमण भएको छ । महानगरको वडा नम्बर १, २, ४, ११, ३१ र ३२ (तत्कालीन) मा खोला मिचिएको छ । नारायणहिटी दरबार परिसरसम्म खोला देख्न सकिन्छ । तर, त्यहाँबाट बाहिर जयनेपाल हलदेखि कमलादी मोडसम्म करिब पाँच सय मिटरमा त टुकुचा सरकारी नक्साबाटै गायब छ । खोलामाथि पक्की संरचना बनाइएका छन् । कमलादीको उत्तरपूर्व पुतलीसडक मोडनिर आएपछि भने टुकुचा एक ठाउँ झुल्किन्छ । कतै व्यक्तिका पक्की घर बनाइएका छन् भने कतै सार्वजनिक संघसंस्थाले अतिक्रमण गरेका छन् । त्रिपुरेश्वरस्थित सत्यनारायण र महादेव मन्दिरको बीचबाट बग्दै टुकुचा बागमतीमा मिसिएको छ ।

सहरी विकास मन्त्रालयले टुकुचा खोला मिचेका घरको सूची दुई वर्षअघि नै तयार पारेको थियो । ०७७ मा मन्त्रालयले मिचिएको कित्ता नम्बर र घरधनीको नामसहितको सूची तयार पार्ने जिम्मा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई दिएको थियो । त्यसलगत्तै समितिले टुकुचाको अध्ययनका लागि निजी बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने जिम्मा दिएको थियो । कन्सल्टेन्सीले तीन महिना लगाएर गरेको अध्ययनपछि डिपिआर रिपोर्ट १५ सेप्टेम्बर २०२० मा समितिलाई बुझाएको थियो ।

तर, दुई वर्षदेखि रिपोर्ट समितिमै थन्किएको थियो । गत आइतबार समितिबाट रिपोर्ट झिकाएर मेयर बालेन्द्र साह ‘एक्सन’मा उत्रिएका हुन् । सोही रिपोर्टका आधारमा बिहीबार महानगरले जयनेपाल हलस्थित टुकुचाको पुरिएको भाग उत्खनन गरेको हो । यसलाई निरन्तरता दिएर अवैध संरचना भत्काउँदै टुकुचालाई पुरानै प्राकृतिक अवस्थामा ल्याउने महानगरले बताएको छ ।

‘टुकुचा पुरिएको क्षेत्र उत्खननको काम हामीले सुरु गरिसकेका छौँ । अब नक्सापास हेरेर महानगरले भवन भत्काउन पनि सुरु गर्छ । यो काम नसकिएसम्म निरन्तर अघि बढ्छ,’ महानगरपालिका प्रवक्ता नवीन मानन्धरले भने, ‘काठमाडौंको खोलालाई प्राकृतिक अवस्थामै ल्याउने हाम्रो योजना छ । यसमा मेयरसापको विशेष चासो पनि छ । उहाँले यो काम नरोक्ने बताउनुभएको छ ।’

के छ अध्ययन प्रतिवेदनमा ?
टुकुचाको शिर बुढानीलकण्ठदेखि त्रिपुरेश्वरसम्म पाँच किलोमिटर क्षेत्रफलमा कन्सल्टेन्सीले अध्ययन गरेको थियो । अध्ययनका क्रममा टुकुचाको सबै भागमा इन्जिनियर पुगेका थिए । तीन महिना लगाएर गरिएको अध्ययनले जोडिएका पाँच सय ८१ वटा कित्ताबाट टुकुचा अतिक्रमण भएको पत्ता लगाएको थियो । टुकुचाको २० प्रतिशत क्षेत्रफल मिचेर व्यक्ति तथा सार्वजनिक संस्थालगायतले पक्की संरचना बनाएकोे र ४० प्रतिशतमा व्यापारिक अस्थायी टहरा बनेको रिपोर्टमा उल्लेख छ । अध्ययनपछि कन्सल्टेन्सीले नदीको क्षेत्रफल दश मिटर राख्नुपर्ने र दायाँबायाँ चार–चार मिटर छाड्नुपर्ने गरी काम गर्न सुझाव दिएको थियो ।

मन्त्रिपरिषद्ले ०६५ मै खोला खाली गर्न भनेको थियो
१ मंसिर ०६५ मा बसेको मन्त्रिपरिषद् बैठकले टुकुचाको अतिक्रमित भाग खाली गर्ने तथा दायाँबायाँ चार–चार मिटर छाडेर मात्रै अरू संरचना बनाउने निर्णय गरेको थियो । त्यसकै आधारमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ०७७ मा डिपिआर गर्न लगाएको थियो । अहिले सोही प्रतिवेदनका आधारमा महानगरले अवैध संरचना भत्काउने अभियान सुरु गरेको समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले बताए ।

अवैध संरचना भत्काइएपछि समितिले दायाँबायाँ ढल व्यवस्थापन र बाटो बनाउने काम गर्ने तिमिल्सिनाले बताए । अहिले टुकुचाको चौडाइ कहीँ तीन मिटर र कहीँ १० मिटर छ । समितिले यसलाई पनि एकरूपता दिने जनाएको छ । ‘हामीले अब यसलाई खाली गरेरै छाड्छौँ, यसमा सहरी विकास मन्त्रालय, महानगरपालिका, नापी कार्यालयलगायतको समन्वय रहन्छ,’ उनले भने ।

महानगरले शुक्रबार मात्रै जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म सर्भे गरेको छ । करिब पाँच सय मिटर लम्बाइको यो क्षेत्रमा ठूला–साना गीर टुकुचा मिचेर ६५ वटा संरचना निर्माण गरिएका छन् । महानगरको सहरी विभाग प्रमुख सुरज शाक्यका अनुसार त्योे क्षेत्रमा टुकुचा कसरी र कहाँ बगेको छ भन्नेसमेत अत्तोपत्तो छैन । ‘जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म हामीले शुक्रबार सर्भे गरेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा खोलामाथि पक्की घर धेरै छन् ।’ नयाँ पत्रीकामा समाचार छ ।