बालेनविरुद्ध कसले हाल्यो सर्वोच्चमा मुद्दा ? अब के हुन्छ ? - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

बालेनविरुद्ध कसले हाल्यो सर्वोच्चमा मुद्दा ? अब के हुन्छ ?



काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई तीन दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको भनिएको संरचना हटाउने महानगरको कदमविरूद्ध दायर रिटमाथि गरेको टिप्पणीका कारण साहविरूद्ध अवहेलना मुद्दा दायर भएको थियो।

अधिवक्ता दीपकराज जोशीले मेयर साहविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

जोशीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दिनभित्र जवाफ दिन साहसमेतका नाममा आदेश जारी गरेको हो।

नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको त्यो आदेशपछि मेयर साहले सामाजिक सञ्जालमा ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरू संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं,’ लेखेका थिए।

यस प्रकरणमा अर्को पेसी तोक्न ढिलाइ भइरहेको संकेत गर्दै उनले सामाजिक सञ्जालमा आफूलाई बुढो भएको देखाउने तस्बिर राखेका थिए।

उनले लेखेका थिए,‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि।’