बालेन शाहमाथि खनियो उद्योग वाणिज्य संघ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बालेन शाहमाथि खनियो उद्योग वाणिज्य संघ



काठमाडौं- काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे ।

महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारीको दुरुपयोग गर्न नहुने बताए । अध्यक्ष श्रेष्ठले घरधनी र महानगरबीचको विवादको बीचमा व्यापारीलाई पारेर व्यवसायीलाई मेयरले पसलमा नै गएर धम्क्याउने काम गलत भएको बताए ।

उनले कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीहरुको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्याय संगत नभएको टिप्पणी गरे ।

अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाडौं उद्योग वाणिज्य संघ व्यवसायीहरुको हक हितको रक्षाको लागि अगाडि बढ्ने बताए ।

उनले महानगरले अवैध संरचना भत्काउने अधिकारको विरोध नभएर मेयर साहले व्यवसायीहरूप्रति गरेको व्यवहारको विरोध गरेको बताए । अध्यक्ष श्रेष्ठले महानगरले क्षती पुर्याएका व्यवसायीहरुलाई तत्काल क्षतीपूर्ती दिन माग गरे ।

उनले पार्किङको लागि नक्सापास भएपनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए । उनले काठमाडौं महानगरपालिकाले व्यवसायीहरूबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिए ।