सहकार्यमा मेट्रो रेल चलाउन बालेनलाई चिरिबाबुले राखे प्रस्ताव - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

सहकार्यमा मेट्रो रेल चलाउन बालेनलाई चिरिबाबुले राखे प्रस्ताव



काठमाडौँ- ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे । उनले यसको निम्ति महानगरपालिकालाई अविलम्ब कदम चाल्न आग्रह गरे ।

उनले भने – ‘काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनैपनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बल, बुताले सबै पालिकाहरुमा छुने किसिमको मेघा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ । ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ । तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडी बढौँ ।’

‘काठमाडौं महानगरपालिकाका प्रमुख समक्ष एउटा प्रश्ताव राख्न चाहान्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ । यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु । ललितपुरबाट काठमाडौंमा पनि जोडौँ । काठमाडौंले बूढानीलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदाबरीको गार्डेनसम्म पुर्‍याउन पायौँ भने एकदमै राम्रो हुन्छ । यसको निमित्त गोदाबरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनको लागि बजेटको व्यवस्थापन गरिसकेको छ । तसर्थ यता विलम्व नहोस् भनेर मैले सुझाव दिएँ ।’ उनले भने ।

उनले सार्वजनिक खरिद ऐन २०६३ को आमुल सुधार गर्नुपर्ने बताए ।