बालेनको एक्सन अब घरजग्गा र सम्पत्ति करमा: ५० करोड बक्यौता - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बालेनको एक्सन अब घरजग्गा र सम्पत्ति करमा: ५० करोड बक्यौता



काठमाडौँ- आक्रामक रूपमा काममा उत्रिएका काठमाडौं महानगरका मेयर बालेन शाहले अवैधरूपमा निर्माण भएका संरचना भत्काउने अभियान थालेपछि राजनीतिक वृत्त नै तरंगित बन्यो ।

आक्रामक रूपमा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर मोडिएको छ । २९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला ठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामनपा लागिपरेको छ ।

घरजग्गा र सम्पत्ति कर शीर्षकको करस्वरूप कामपाले रु ५० करोड बक्यौता असुल गर्नुपर्ने भएको बताइएको छ । ७० करोड रकम असुल गर्नुपर्ने थियो, गत वर्ष रु २० करोड असुल बैसकेको र हाल ५० करोड बाँकी रहेको बताईएको छ । यो रकम महानगरले यो वर्ष कुनै पनि हालतमा उठाएर छोड्ने तयारीमा बालेन लागेका छन् ।

गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारीसँगै बाजागाजासहित सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाको आधारमा केही संस्था सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै संस्था सम्पर्क गर्नसम्म नआएकाले कामपा यस पटक थप कडाइका साथ रकम असुल गर्नेतर्फ लागेको हो ।

कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको तथा केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेको कामपा राजस्व विभाग प्रमुख अधिकारीले जानकारी दिए ।