कम्युनिस्टको राष्ट्रियता हुँदैन, नाटक मात्रै गर्छन : बलायर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कम्युनिस्टको राष्ट्रियता हुँदैन, नाटक मात्रै गर्छन : बलायर



डडेल्धुरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले कांग्रेसबिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने बताएका छन् । पार्टीको जागरण अभियानअन्तर्गत शुक्रबार डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको लालढुंगा बजारमा आयोजित कार्यक्रममा उनले कांग्रेस राष्ट्रियताको मेरुदण्ड भएको बताए ।

कम्युनिस्टहरुले राष्ट्रियता जोगाउन नसक्ने दाबी गर्दै उनले भने, ‘‘कम्युनिस्टहरुको राष्ट्रियता नै हुँदैन । उसले राष्ट्रियताको खोल मात्रै ओढेको छ ।’’ नेता बलायरले कम्युनिस्टहरु एक आपसमै मिल्न नसकेकाले देश मिलाउँछु भन्नु उनीहरुको सपना मात्रै भएको टिप्पणी गरे ।

कम्युनिस्ट प्रधानमन्त्रीहरुले देशलाई लुटेर खाएको आरोप लगाउँदै उनले कांग्रेस नेतृत्वको सरकारले १८ महिनामै जनतालाई संविधान दिएको स्मरण गराए । कांग्रेसले विगतमा गरेका गल्ति-कमजोरी सुधार गरेर आगामी दिन सही बाटोमा अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

नेता बलायरले पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिस्ट आउँदा ‘रुन पनि पाइन्न’ भनेको पुष्टि हुँदै गएको दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाभिमानलाई गुमाएको आरोप लगाए । ‘‘प्रधानमन्त्रीले एउटा धर्मको आमन्त्रणमा सरकारी निवास छोडेर होटलमा बास बस्ने ?,’’ उनले प्रश्न गरे । ओलीले राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय स्वाभिमानलाई गुमाएको नेता बलायरले दाबी गरे ।