आफैँलाईसमेत भोट हाल्न नपाउने बलायरका काण्डै-काण्ड - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

आफैँलाईसमेत भोट हाल्न नपाउने बलायरका काण्डै-काण्ड



अत्तरिया- कैलाली क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरका लागि असहज बन्दै गएको छ। बेला-बेला दिने विवादास्पद अभिव्यक्तिका कारण बलायरका लागि कैलाली ४ असहज हुँदै गएको हो।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापतिसमेत रहेका बलायरमाथि प्रदेशमा उम्मेदवारहरूलाई सन्तुष्ट पार्न नसकेको आरोप लागिरहेका बेला उनका विवादास्पद अभिव्यक्तिले कैलाली ४ मा उनको माहौल विग्रदै गएको चर्चा हुन थालेको छ।

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा बलायर भने आफू जित्नेमा ढुक्क देखिएका छन्। पार्टी सङ्गठनको मतसँगै सत्ता गठबन्धनको मतले आफूलाई विजयी हुन सजिलो रहेको बलाएरको बुझाइ छ।

‘उहाँले जीवनभर डोटीमा राजनीति गर्नुभयो। तर, अन्तिम अवस्थामा पदका लागि डोटीलाई छोड्नु भयो। उहाँलाई उठाउने, मन्त्री बनाउने भूमिलाई भूलेर अहिले उहाँले डोटीकै विरुद्धमा अभिव्यक्ति दिइरहनु भएको छ,’ कांग्रेसकै एक नेताले नाम नभन्ने सर्तमा भने। उनले २०७४ सालको चुनावमा डोटीमा बाहुनले हराएको र कैलालीमा पनि आफू बाहुन समूदायको मत बिनै जित्ने अभिव्यक्ति दिन थालेको खुलासा भएको ती नेताले बताए।

‘उहाँले आफ्नो कोर टिमसँग मैले समाजवादी र माओवादीको साथ पाइहाल्छु। डोटीमा पनि मलाई बाहुनले असहयोग गरेका हुन्। यता पनि मलाई त्यो समूदायबाट असहयोग नै हुन्छ। उनीहरूको असहयोग बिनै पनि मैले चुनाव जित्छु भनिरहनु भएको छ? त्यो अडियोसमेत हामीलाई प्राप्त भएको छ,’ उनले भने।

यस्ता छन् बलायरका केही दिन यताका विवादास्पद घटना

कांग्रेस नेतालाई नै ज्यान मार्ने धम्की

केही समय पहिले बलायरले डोटीका कांग्रेस नेता बलायरलाई ज्यान मार्ने विषय सार्वजनिक भएको थियो। उनले यही असोज ५ गते राति ११ बजे शिखर नगरपालिका निवर्तमान मेयरसमेत रहेका जोशीलाई फोन गरेर गालीगलौच गरेको अडियो बाहिरिएको थियो।

उनले राति ११ बजेदेखि ११:३० सम्म फोन गरेर तथानाम गाली मात्र गरेर ज्यान मार्ने धम्की जोशीको गुनासो थियो। उक्त समाचार बाहिरिएपछि बलायरले जोशीलाई पुन: दवाव दिएर धम्कि नआएको भन्दै स्टाटस लेख्न लगाएका थिए। तर, त्यो स्टाटस धेरै बेर टिकेन। जोशीले राति पोस्ट गरेको स्टाटस अर्को दिन बिहान डिलिट गरे।

अत्तरिया राजधानी स्वीकार्न नसक्ने अभिव्यक्ति

जोशीलाई धम्की दिएको केही दिनपछि बलायरले अत्तरियामा राजधानी हुनै नसक्ने अभिव्यक्ति दिएका थिए। डोटीमा पत्रकार सम्मेलन गर्दै उनले दिएको अभिव्यक्तिको भिडियो अहिले पनि सुरक्षीत छ। अहिले जुन क्षेत्रको उनले विरोध गरेका थिए त्यही क्षेत्रबाट चुनाव लड्दै छन्।

‘सुदूरपश्चिमको राजधानी अहिले धनगढीमा डेरामा छ। अहिलेको सरकारले गोदावरी बनाएको छ। गोदावरी कुनै हालतले पनि बन्न सक्दैन। अहिले राजधानी आकासमा छ। कसले टिप्ने भन्ने कुरा छ,’ बलायरले डोटीमा पत्रकार सम्मेलन गर्दै भनेका थिए।

गोदावरी राजधानी लैजाने नेतृत्व को हो? भन्दै उनले प्रश्न गरेका थिए। डोटीका मानीयले मात्रै मतदान नगरेको भए गोदावरीमा राजधानी नजाने उनको जिकिर छ। आफ्नो पार्टीको भरत बहादुर खड्का रहेको र उनले भोट नहालेको उनले बताए।

केही दिनमै फेरिएको बोली

त्यसको केही दिनपछि बलायरले दिनेश खबरसँगको कुराकानीमा अत्तरिया राजधानी जसरी पनि हुने अभियक्ति दिएका थिए।

विगतमा धेरैजसो नेताहरुले चुनाव जितेर एकपटक सांसद बनेपछि निर्वाचन क्षेत्र बदल्ने र छोड्ने पनि परिपाटी देखिएको छ। तपाईं के गर्नुहुन्छ? भनेर दिनेश खबरले सोधेको प्रश्नको उत्तरमा बलयारले भनेका छन्, ‘मेरो राजनीतिक जन्मथलो डोटी भए पनि म यहाँ आइसकेपछि त्यस्तो हुन्न। यहाँका मानिस, यहाँको पार्टीले मलाई स्विकार गरिसकेपछि म यही रहन्छु। मभित्र स्वार्थ छैन। म कैलालीभित्रै आफ्नो स्पेस खोज्छु। म अब डोटी फर्केर जाँदैन।’

आफ्नो स्वार्थ पुरा गर्न स्थानीय नेता उक्साएको आरोप

बार्गेनिङ गरेर जिल्ला छोड्न तयार भएका नेपाली कांग्रेसका प्रदेश सभापति बलायरको उक्साहटमा लागेर डोटीका केहि नेताहरूले गठबन्धन नगर्ने भन्दै पार्टीलाई दवाव दिएका थिए। बलायरले गठबन्धन नगर्ने भन्दै जिल्लामा विज्ञप्तिबाजी गर्न लगाएका थिए ।

आफूले टिकट नपाउने पक्का भएपछि बलायरले नेताहरूलाई उक्साउन थालेको आरोप लागेको थियो। उनले बार्गेनिङमा जिल्ला छोडेको हल्ला डोटीमा मात्रै होइन कैलालीदेखि काठमाडौंसम्म फैलिएको छ।

यसअघि गठबन्धनविरुद्ध विज्ञप्ति निकालेपछि सभापति देउवाले “के गरेको यो जात्रा?” भनेपछि मथ्थर बनेका बलायर डोटी छोड्न तयार भएका थिए।

बलायरले आफैँलाई भोट दिन नपाउने

प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाले बलायरले आफैँलाई हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। उनी कैलाली ४ मा एमालेका लेखराज भट्टसँग प्रतिस्पर्धा गर्ने छन्।