अमेरिकाबाट पक्राउ परे बलात्कारी - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

अमेरिकाबाट पक्राउ परे बलात्कारी



काठमाडौं- ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । उनलाई बुधबार नै जिल्ला अदालत काठमाडाँैमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिए।

विसं २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सीताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्कासमेतले करणी गरी घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याइ भागेका थिए । असोज ३० गते बिहान झापाको चारआली जङ्गलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । सोही घटनामा सर्वाेच्चले दोषी ठहर गरेको थियो । दुई दिनअघि मात्रै आफ्नै बाबुको हत्या गरेको आरोप लागेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले २० वर्षपछि पक्राउ गरेको थियो ।