बाल बिबाह तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि जुटे किशोरी - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

बाल बिबाह तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि जुटे किशोरी



विशाल पाण्डेय/ सुखड,कैलाली

कैलालीको घोडाघोडी नगरपालिकामा ओरेक नेपालको सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मुल्यांकन तथा अनुगमन गरिएको छ ।

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको संयोजकत्वमा सोमबार घोडाघोडी नगरपालिकामा भएका नगर स्तरीय युवा संजाल , नयाँ बजार कृषक महिला समूह र लाली गुराँस किशोरी समुहले गरेका कामको अनुगमन तथा मुल्यांकन गरिएको हो ।

अनुगमनका क्रममा घोडाघोडी नगर युवा संजालका अध्यक्ष शंकर डगौराले ओरेक नेपालको सहयोगमा आर्थिक बर्ष २०१९ मा सम्पन्न भएका कार्यक्रमहरु प्रस्तुत गरेका थिए । डगौराका अनुसार , वडा नं २ मा रहेको दुर्गा मन्दिर घेरबार वडा नं ७ मा प्रतीक्षालय निर्माण , ५ मा काठेपुल निर्माण ,मौलिक हक सम्बन्धि अभुमिखिकरण , बाल बिबाह दुर्ब्यवसनी सम्बन्धि सडक नाटक लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ । अध्यक्ष डगौराले सरकारले युवा नीति ल्याउन आवश्यक रहेको बताउदै आगामी दिनमा स्थानीय सरकार , ओरेक नेपाल लगायतका संस्थाहरुसंग समन्वय गरेर काम गर्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उमेश रेग्मीले देश निर्माणका लागि युवाहरुको ठूलो भुमिका रहेको बताए । उनले समुदाय परिचालन तथा त्यहाँ भएका विकृतिलाई अन्त्य गर्नको लागी युवाहरु लाग्नुपर्ने जोड दिए । स्थानीय तहमा भएका योजना निर्माणका कार्यहरुलाई अनुगमन गरि खबरदारी पनि गर्नु पर्ने बताउदै रेग्मीले आगामी दिनमा युवा र खेलकुदका लागि कार्यविधी बनाएर समन्वय गरि अगाडि बढ्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहीले समाजमा भएका विकृति विसंगतिहरुलाई अनिवार्य रुपमा युवाहरुले हटाउनु पर्ने बताए । उनले समाज , नगर र देश परिवर्तन हुनको लागि पहिला युवाहरु परिवर्तन हुनेपर्ने बताउदै नगर भित्र भएका जतिपनी योजनाहरुमा युवाहरुले चासो देखाएर अनुगमन गरि खबर गरिदिन आग्रह समेत गरे ।

त्यस्तै घोडाघोडी नगरपालिका -२ मा रहेको नयाँ बजार कृषक समूहको समेत अनुगमन गरिएको छ । संस्थाका अध्यक्ष राजमती अधिकारीले संस्था स्थापना भएको छोटो समयमा नै ओरेक नेपालको सहयोगमा धेरैनै कार्यक्रमहरु संचालन गरेको बताइन् । उनले ओरेक नेपालको सहयोगमा महिला हिंसा ,छाउपडी ,बाल बिबाह , लैङ्गिक हिंसा लगायतका कार्यक्रमहरु गरिएको जानकारी दिदै महिलाहरुमा बोल्ने शैलीको विकासमा पनि परिवर्तन भएको बताइन् । साथै कार्यक्रममा संस्थाका सदस्यहरुले माकुरोको जालमा जस्तै बेरिएर बस्नुपर्ने बाध्यतालाई ओरेक नेपालले अन्त्य गरेको बताए । जनचेतनाको कमिले अझैपनी महिलाले केही गर्न हुदैन भन्ने मानसिकता रहेको बताउदै सहभागीहरुले वडा र नगरपालिकाबाट महिला समुहलाइ जनचेतनामूलक कार्यक्रमको लागि सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै वडा नं २ का वडाध्यक्ष हरिराज बिष्टले महिला हिंसा ,बाल बिबाह ,छाउपडी , लैङ्गिक हिंसा लगायतका समस्याहरुको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । अध्यक्ष बिष्टले समुहले कार्ययोजना पेश गरे जनचेतनामूलक कार्यक्रम तथा कृषि क्षेत्रको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

यस्तै घोडाघोडी नगरपालिका ३ मा रहेको लाली गुराँस किशोरी समुहको समेत अनुगमन गरिएको छ । ओरेक नेपालको सहयोगमा सबैभन्दा बढी बाल बिबाहको समस्या रहेको आफ्नो समुदायमा उक्त समूह आएर सुधार भएको लाली गुराँस किशोरी समुहकी सदस्य एन्जिला चौधरीले बताइन् । समुहले बाल बिबाह न्यूनीकरण , छुवाछूत , बहु बिबाह ,बोक्सी प्रथा लगायतका कार्यहरुमा न्यूनीकरण भएको सदस्य चौधरीले बताइन् ।

कार्यक्रममा बोल्दै वडा नं ३ का अध्यक्ष कमल थारुले चेतनाको अभावले दिन प्रतिदिन विभिन्न घटनाहरु हुने भएकोले सम्पूर्ण समुदायमा चेतना विकास गर्नुपर्ने बताए । उनले भने ,” किशोरीले बालविवाह, लैंगिक हिंसा, बहुविवाह, बेचविखन लगाएतका प्राप्त ज्ञानले समाज परिवर्तन गर्न सकिन्छ ।”

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले ओरेक नेपालको प्रशंसा गर्दै नगर युवा संजालका सदस्य ,महिला कृषक समुहका सदस्य तथा किशोरी समूहहरुले गरेका लैंगिक हिंसा ,बालविवाह लगायत विरुद्धमा गरेको कार्यक्रम ,सडक नाटक तथा अन्य कार्यक्रमहरु राम्रो रहेको बताइन् । समुहले गरेका कार्यक्रमको अनुगमन गर्दै उप प्रमुख थापाले महिला तथा किशोरीहरुको क्षमता विकासका लागि आगामी दिनमा पनि यस्ता सक्रिय समूहसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन् ।

ओरेक नेपालले महिला अधिकार र मानव अधिकार सम्बन्धि काम गर्दै आइरहेको जिल्ला संयोजक बिनु रानाले बताइन् । आरेकले लैंगिक हिंसाका क्षेत्र सँगसँगै महिलाहरुको नेतृत्व विकासका लागि समुदायमा महिला तथा किशोरी समूह गठन गर्दै आएको बताउदै रानाले संविधानमा कानुनी हक र स्थानीय तहसंग समन्वयको भुमिका ओरेकले गर्दै आइरहेको बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समितीकि उपाध्यक्ष सुन्दरी चौधरी ,घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उमेश रेग्मी , महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशी ,सम्बन्धित वडाका वडा अध्यक्ष ,ओरेक नेपालकि कैलाली जिल्ला संयोजक बिनु राना , कार्यक्रम संयोजक गिता चौधरी ,गौरीगंगा नगरपालिका संयोजक निल कुमारी चौधरी ,घोडाघोडी नगरपालिका संयोजक प्रिती चौधरी पत्रकार लगाएतको टोलीले नगर स्तरीय युवा संजाल , नयाँ बजार कृषक महिला समूह र लाली गुराँस किशोरी समुहले गरेका कामको अनुगमन गरेका थिए ।