बाजुरामा पनि देउवालाई धक्का - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

बाजुरामा पनि देउवालाई धक्का



काठमाडौ- बाजुरामा पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । बाजुराको सभापतिमा देउवा इतर समूहका रामसिंह रावल विजयी भएका छन्। त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका रावलले संस्थापन पक्षका कविराज पण्डितलाई हराएका हुन्।

बुधबार भएको मतदानबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो।वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रावलले ६०५ मत प्राप्त गरे भने रावलका प्रतिस्पर्धी पण्डितले ५६६ मत पाए।

पराजित पण्डित दोस्रो कार्यकालका लागि सभापतिमा भिडेका थिए। तेस्रो स्थानमा रहेका चक्र शाहले रावललाई दोस्रो चरणको मतदानमा सघाएपछि उनको जित सुनिश्चित बनेको थियो। सभापतिमा उठेका शाह बुधबार १५२ मत सहित तेस्रो स्थानमा आएका थिए।

दोस्रो चरणको मतदानमा कुल ११ सय ८२ मत खसेको थियो। संस्थापन पक्ष बलियो रहेको दाबी गरिएको बाजुरामा जिल्ला अधिवेशनमा उक्त पक्षले हार बेहोरेको छ।

जिल्ला कार्य समितिको पदाधिकारीमा सह सचिव एक जना बाहेक सबै पद संस्थापन पक्षले गुमाएको छ। सभापति र उपसभापतिमा एक जना पौडेल पक्षबाट विजयी भएका छन्। पदाधिकारीका अन्य पदमा अधिकांश कृष्णप्रसाद सिटौला पक्षका जिल्ला नेता विजयी भएका छन्।

बाजुरामा जित निकाले सँगै संस्थापन इतरका ७ जना जिल्ला सभापतिमा बनेका छन्। जिल्ला अधिवेशन भएका ११ जिल्लामा अन्य ४ मा संस्थापन पक्षका सभापति चुनिएका छन्।