बजारमा प्लास्टिक चामलको बेचबिखन हुँदै गरेको खबर निराधार !
ईन्द्र कमल जैरु /नयाँ दिल्ली
आजभोली बजारमा प्लास्टिकको चामल छ्यापछ्याप्ती बेचबिखन भइरहेको भन्ने खबरले तपाइहरूलाई संशकित बनाइरहेको छ भने हिमाल पोस्टको यो खबरले तपाईँलाई भयमुक्त गराउनेछ । सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोहरूले हामी तपाईँलाई भयवित बनाउने गरेको छ । भिडियोमा तपाइहरूले चामललाई पकाएपछि त्यसको डल्लो पारेर भुईँमा फ्याकेर देखाउछन अनि त्यो डल्लो फुट्नुको साटो बल झैँ उफ्रिरहेको देख्नु भएको छ । वास्तवमा भिडियोमा देखाइएको सबै दृश्य वास्तविकनै हुन । तर त्यो भात बनेको चामल भने प्लास्टिकको होइन । प्लास्टिकलाई नसड्ने र नगल्ने पदार्थको रूपमा लिइन्छ । त्यसमाथि प्लास्टिकका चामलबाट बनेको भात खाए भने त पक्कै शरीरलाई नोक्सान गर्छ भन्ने डरले हामी त्रसित हुन्छौं । तर सामाजिक सञ्जालमा प्लास्टिकका चामल भनेर देखाइने चामल प्लास्टिकका नभएर वास्तविकनै भएको बेला-बेलाका जाँचले पुष्टि गरेको छ।
प्लास्टिकका चामल कि वास्तविक चामल ?
अहिलेसम्म विभिन्न मुलुकमा प्लास्टिकका चामल विक्री भइरहेको उजुरी खाद्य प्राधिकरणमा उजुरी परेका थिए । तर खाद्य प्राधिकरणको जाँचमा भने प्लास्टिकका चामल भएको कुनै प्रमाण फेला परेको छैन । अधिक नाफा कमाउनका लागि प्लास्टिकको चामल उत्पादन भइरहेको भाइरल खबरमा बताइने गरेको छ । कयौँ भिडियोमा त झनै प्लास्टिकका चामल बन्ने प्रक्रियानै देखाइने गरेको छ । तर वास्तवमा प्लास्टिकको चामल उत्पादन गर्ने हो भने वास्तविक चामल भन्दा पनि महँगो हुन जाने विशेषज्ञ बताउँछन् ।
भाइरल भिडियोमा भातको डल्लो पारेर भुर्इंमा फ्याक्दा उफ्रिने गर्दा हामी डराउँछौं । तर त्यो नै वास्तविक चामल हो । खाद्य विशेषज्ञका अनुसार सही तरिकाले खेतबाट उत्पादन गरिएको चामल भएकाले त्यसरी तल झार्दा उफ्रिने गर्छ । बेलायतस्थित औद्योगिक समूह राइस एसोसिएसनका निर्देशक एलेक्जेन्डर वाउफका अनुसार चामलमा कार्बोहाइड्रेट र प्रोटिन हुन्छ, त्यसैले भातको डल्लो पारेर भुईँमा फाल्दा उफ्रिएको हो । यदि तपाईँले पनि आफ्नो घरमा पाकेको भातलाई डल्लो बनाएर भूर्इंमा फ्याक्नुहुन्छ भने त्यो नफुटेर उफ्रिन्छ ।
कसरी फैलियो प्लास्टिक चामलको भ्रम ?
प्लास्टिक चामलको भ्रम चीनबाटनै सुरुवात भएको हो । सन २०१० मा चीनमा प्लास्टिक चामलको उत्पादन गरी वास्तविक चामलमा मिसाएर बिक्री गर्ने भइरहेको भन्दै सामाजिक सञ्जालमा खबर फैलियो । त्यसपछि २०११ मा सामाजिक सञ्जालमा आलु र औद्योगिक पदार्थ मिलाएर चामल बनाइन लागेको अर्को खबर भाइरल बन्यो । त्यही दौरान चिनियाँ रेस्टुरेन्ट एसोसिएसनले तीन कचौरा प्लास्टिक चामल खानु एक पोल्थिन झिल्ली खाए बराबर हुने आधिकारिक चेतावनी दिएपछि मान्छेको मनमा प्लास्टिकको पनि चामल हुने रहेछ भन्ने भ्रम बसेको थियो । तर अहिले दिनहुँ जसो आमसर्वसाधरणले पनि ठाउँ-ठाउँबाट प्लास्टिकको चामल भेटाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेका छन् । तर अहिलेसम्म प्लास्टिक चामलको विक्री वितरण भइरहेको कुनै प्रमाण भने भेटिएको भने छैन ।