मन्त्रिपरिषद बैठक बस्दै: आइजीपी छनोटमा 'ब्रेकथ्रु' हुने संकेत ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मन्त्रिपरिषद बैठक बस्दै: आइजीपी छनोटमा ‘ब्रेकथ्रु’ हुने संकेत !



काठमाडौं । भावी प्रहरी महानिरीक्षक छनौट लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ । यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे सामान्य ब्रिफिङ गर्ने र भावी प्रहरी महानिरीक्षक छनौट लगायको विषय राखिएको बालुवाटार श्रोतले जानकारी दिएको छ ।

भावी प्रहरी महानिरीक्षकका लागि डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा छ । पछिल्लो समय डीआईजी धिरु बस्नेतको नाम समेत चर्चामा आएको छ । बढुवाका लागि विशेष गरी रमेश खरेलले एमाले सांसद पूर्व डीआइजी नवराज सिलवाल मार्फत प्रधानमन्त्री केपी ओलीलाई मनाउने पहल गरेको चर्चा छ । गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने खनालको पक्षमा रहेको श्रोतको दाबी छ ।

गठबन्धन सरकारको मुख्य हिस्सा माओवादी केन्द्रले आईजीपी छनौट विवादमा पार्न नहुने अडान लिँदै आएको र जुनियरलाई आईजीपी बनाउँदा सत्ता सहयात्री बिच्किन सक्ने भएकोले, अहिलेसम्मको माहोल खनालकै पक्षमा दखिएको छ । तर पछिल्लो समय प्र्रधानन्त्रीले शक्ति आफैंमा केन्द्रित गर्ने गरेको र आफुहरुसँग छलफल नै नगरी एकलौटी निर्णय गर्न थालेको भन्दै माओवादी मन्त्रीहरु सशंकित भएका छन् । यो विषयमा उनीहरुले पार्टी अध्यक्ष दाहालसँग गुनासो समेत गरिसकेका छन् । भावी आईजी छनौटको बारेमा प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै संकेत नगरेका कारण अहिलेसम्म कसको भाग्य खुल्ने भन्ने एमालेभित्रकै बाँकी शीर्ष नेताहरु समेत निश्चित हुन सकेका छैनन् ।

आईजी छनौटको अन्तिम समय आइरहँदा डीआईजी धिरु बस्नेतको नाम एकाएक चर्चामा आएको छ। गत असार मसान्तमा १५ जनाका एसएसपी बढुवा गरिएकोमा धिरु बस्नेत १३ औं स्थानमा थिए। बस्नेतको सम्बन्ध प्रधानमन्त्री ओलीसँग निकट रहेको श्रोतको दाबी छ । वर्तमान प्रधानमन्त्री ओली पहिलोपल्ट गृहमन्त्री भएको बेला बस्नेत उनका अंग रक्षक (पर्सलन सेक्यूरिटी अफिसर) थिए । त्यही बेलादेखि बस्नेतको सम्बन्ध ओलीसँग निटक रहेकोले, प्रधानमन्त्रीको रोजाइमा उनी परेमा आश्चर्य नहुने श्रोतको दाबी छ ।

बढुवासिफारिस समितिको बैठक बस्दै
आईजीपी सिफारिसका लागि आज बिहानै गृहमन्त्रालयमा बैठक बस्दैछ । बिहानका लागि बोलाइएको मन्त्रिपरिषद बैठक अघि बढुवा सिफारिस समितिको बैठक बस्न लागेको हो । आईजीपीका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङकन लगायतका व्यक्तिगत विवरण मन्त्रालयले झिकाएको छ। मंगलबार बिहान बढुवाका लागि मन्त्रालयमा बैठक बस्न लागेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिएका छन् । नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण भोलीदेखि अनिवार्य अवकाश पाउँदैछन् ।