सर्वपक्षीय बैठकमा नेताहरूको एउटै अडान - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

सर्वपक्षीय बैठकमा नेताहरूको एउटै अडान



काठमाडौं : प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले हाम्रो भूमिबाट भारतीय सैनिक फिर्ता लैजानुपर्ने बताएका छन् ।

सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा नेपाली भूमि कालापानीमा राखिएका भारतीय सैनिक फिर्ता गर्नुपर्ने अडान दलहरुले प्रस्तुत गरेका छन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेकोबारेमा कुनै विवाद नरहेको जनाउँदै दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालतर्फ अतिक्रमण गरेर बसेका भारतीय सैनिक फिर्ताका लागि कूटनीतिक पहल थाल्न सुझाएका छन्।

लिपुलेक, कालापानी र लिम्पियाधुराबारे सबै दल एकमत छन्। यो संवेदनशील विषयमा प्रम केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए । बैठकका प्रायः सबै वक्ताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको भूभागबारे कुनै विवाद द्विविधा नरहेको मत राखेको जनाइएको छ ।

अध्यक्ष थापाले भारत सरकारले आफ्नो नक्सामा नेपालको भूभाग पारेकोमा सबैले विरोध गरेको पनि जानकारी दिए। ‘बैठकमा मैले यी भूभाग नेपालको हो, होइन भनेर विवाद गर्नु जरुरी नरहेको कुरा राखेँ’, उनले भने,‘ती भूभागबाट यसअघि (वि.सं. २०१८ तिरै) जनगणना भएको छ, मालपोत उठाएको छ, तिरो उठाएको रेकर्ड छ। अतिक्रमित भूमि फिर्ता लिन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउन प्रभावकारी ढंगबाट प्राथमिकताका साथ कूटनीतिक पहल गर्नुपर्छ।’

अध्यक्ष थापाले आफूले बैठकमा परराष्ट्र सचिवतहको संयुक्त आयोगको बैठक बोलाउन सरकारले पहल गर्नुपर्ने सुझाव बैठकमा दिएको पनि जानकारी दिए। ‘नेपालले विज्ञप्ति मात्रै होइन, भारतीय पक्षलाई आफ्ना असन्तुष्टि प्रष्टरुपमा सुनानुपर्छ’, उनले थपे,‘यससँगै आफ्नो सीमाक्षेत्रमा नेपालले अझै बढी सुरक्षा अवस्थालाई सुदृढ बनाउन सक्नुपर्छ।’