वैशाखदेखि सबैतिर लोडसेडिङ हट्ने - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

वैशाखदेखि सबैतिर लोडसेडिङ हट्ने



कान्तिपुर : काठमाडौँ । विद्युत् प्राधिकरणले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेको छ । स्युचाटारस्थित भार प्रेषण केन्द्र अवलोकन गर्न पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई ब्रिफिङ गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने जनाएका हुन् ।

प्राधिकरणले अहिले औद्यौगिक ग्राहकलाई मात्रै दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ । औद्योगिक ग्राहकबाहेक अन्यत्र कतै लोडसेडिङ नगरिएको प्राधिकरणले जनाएको छ ।
ब्रिफिङपछि मन्त्री पुनले नयाँ सरकार गठन र नयाँ वर्षको अवसरमा वैशाखबाटै लोडेसेडिङ अन्त्यको थालनी गर्न निर्देशन दिएका थिए । मन्त्री पुनलाई घिसिङले देशैभरि विद्युत्को माग, आपूर्तिको अवस्थाबारे जानकारी गराएका थिए ।

मन्त्री पुनसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसमेत भार प्रक्षेपण केन्द्र पुगेका थिए ।

प्राधिकरणले आइतबारै एक विज्ञप्ति जारी गर्दै औद्योगिक ग्राहकबाहेक अन्य ग्राहकका लागि कुनै पनि लोडसेडिङ नगरिएको जानकारी गराएको छ । प्राविधिक गडबडी हुँदा केही स्थानमा केही समय विद्युत् भार कटौती हुँदा ग्राहकमा लोडसेडिङबारे द्विविधा भएको भन्दै प्राधिकरणले यस्तो प्रस्टोक्ति दिएको हो । ‘कुनै कुनै स्थानमा केहीबेर विद्युत् नआउनु प्रणालीमा आएको गडबडीले हो,’ घिसिङले भने, ‘हावाहुरीले हुने यस्तो गडबडीका कारण आपूर्तिमा कहिलेकाहीँ समस्या आउँछ ।’

प्रणालीमा गडबडी भए तत्काल समाधान गर्न चौबिसै घण्टा प्राविधिक टिम तयारी अवस्थामा रहेको उनले जानकारी दिए । ‘सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा हुने क्षति, पोल तथा टान्सर्फमर सार्नुपर्नेलगायत प्राविधिक कारणले क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्छ,’ घिसिङले भने ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् आपूर्तिलाई नियमित गर्न कन्डक्टर फेर्ने, फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने काम तीव्र गतिमा भइरहेको बताए ।