माओवादीको महाधिवेशन चलिरहेकै बेला मोहन वैद्यले प्रचण्डलाई दलाल भनेपछि - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माओवादीको महाधिवेशन चलिरहेकै बेला मोहन वैद्यले प्रचण्डलाई दलाल भनेपछि



काठमाडौ- नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड) दलाल भएको बताएका छन् । उनले केपी शर्मा ओली र प्रचण्डलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका हुन्।

माओ दिवसको अवसरमा महासचिव वैद्यले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए पनि शुरुमा भएका क्रान्तिकारीहरू पछि गएर बिग्रिएको बताए। उनले यस्ता घटनाहरूको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए।

महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरूले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए। अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे।

महासचिव वैद्यले भने, “कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए, पहिलेका किसान आन्दोलनहरू, २०२८ सालदेखि यताको झापाको ऐतिहासिक सशस्त्र विद्रोह, हामी नेकपा माओवादीहरूले चलाएको १० वर्षे जनयुद्ध, राम्रै तरिकाले अघि बढेका हुन्। तर भयो के भने, शुरु, शुरुमा भएका क्रान्तिकारीहरू पछि गएर बिग्रिए। यो एउटा स्थिति हो, यो त हुँदो रहेछ। चीनमा पनि भएको थियो। यस्त घटना घटेपनि यिनको व्याख्या गर्न जरुरी छ। व्याख्या नगरीकन अघि बढ्न सकिँदैन। आज नेपालमा सच्चा कम्युनिष्ट को हो त ? दक्षिणपन्थीहरूको एउटा व्याख्या छ हाम्रो अर्को व्याख्या छ। दक्षिणपन्थीहरूको अहिले ओलीहरू भन्नुस्। उनीहरूलाई सबैले साच्चैको दक्षिणपन्थी भन्छन्। तर उनीहरूले आफूलाई खाँटी मार्क्सवादी भन्छन्।”

उनले थपे, “प्रचण्डहरू म क्रान्तिकारी हुँ भन्न थाले। विचारमा क्रान्तिकारी, पार्टी अब नयाँ निर्माण गर्ने भनेर फलाक्न थालिसके। जस्तो अवसरवादी भए पनि विचित्रको एउटा कुरा के हो भने मार्क्सवाद, लेनिनवाद, माओवादको नाम त जप्नुपर्दो रहेछ। प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन्। प्रचण्ड के भन्छन् भन्दा यो संविधानको रक्षा गर्ने हामी हौँ, प्रतिगमनविरुद्ध जाने हामी हौँ भनेर कुर्लेका छन्। यो संविधानको रक्षा गरे त, त्यही हो प्रतिगमन, त्यही हो प्रतिक्रान्तिकारी, ओलीहरू, प्रचण्डहरू दक्षिणपन्थी मात्रै होइनन्, दक्षिणपन्थी भन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरू त प्रतिक्रियावादका दलाल हुन्।”

महासचिव वैद्यले मार्क्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसार राजनीतिक कार्यदिशा बनाउनुपर्नेमा जोड दिए।