वैदेशिक रोजगारमा ठगिएकाले पाए चार करोड क्षतिपुर्ति - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

वैदेशिक रोजगारमा ठगिएकाले पाए चार करोड क्षतिपुर्ति



काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले झन्डै चार करोड रुपैयाँ बराबरको क्षतिपूर्ति पाएका छन्।

अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा पीडितहरुले क्षतिपूर्ति पाएका हुन्। रोजगारका लागि विदेश गएर अलपत्र परेका तथा जाने प्रक्रियाका क्रममा स्वदेशमै ठगिएका पीडित तथा उनीहरुका आफन्तले दिएका उजुरीका आधारमा क्षतिपूर्ति उपलब्ध गराइएको हो । वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालगायत सरोकारवाला पक्षसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध भएको संघका अध्यक्ष दीपक राउत क्षेत्रीले जानकारी दिए।

गत वैशाखदेखि असार पहिलो सातासम्ममा माल्दिभ्स, साउदी अरब, कतार, मलेसिया, साइप्रस, पोल्याण्ड, अजरवैजान, मकाउ, संयुक्त अरब इमिरेट्स्लगायत मुलुकमा विभिन्न मेनपावर एजेन्टमार्फत गएका कामदारले सम्झौताअनुसार काम तथा पारिश्रमिक नपाएको, अलपत्र परेका कामदारलाई सम्बन्धित मेनपावर कम्पनीबाट फिर्ता बोलाएर कानूनअनुसार क्षतिपूर्ति भराइएको उनले बताए। विदेशमा रोजगारीका लागि गरिएको सम्झौता अनुसार समयावधि सकिएर घर फिर्ता हुन नपाएका केही कामदारलाई फिर्ता गराइएको संघले जनाएको छ।