वडाध्यक्ष र सदस्यले नै बहिष्कार गरे जनकपुरको नगरसभा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

वडाध्यक्ष र सदस्यले नै बहिष्कार गरे जनकपुरको नगरसभा



जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको तेस्रो नगरसभा वडाध्यक्ष र वडा सदस्यहरुले बहिष्कार गरेका छन् । चालू आर्थिक वर्षको आय–व्यय र आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम पारित गराउन उपमहानगरपालिकाले सोमबार नगरसभाको आयोजना गरेको थियो । सो नगरसभा वडाध्यक्ष तथा सदस्यहरुले भने बहिष्कार गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले हैकम देखाएको तथा अपारदर्शी ढंगले बजेट ल्याउने गरेको आरोप लगाउँदै ८ जना वडाध्यक्ष तथा ५० भन्दा बढी वडा सदस्यहरुले नगरसभा बहिष्कार गरेका छन् ।

उपमहानगरपालिकाले आगामी वर्ष करारमा कर्मचारी भर्ना गर्ने प्रस्तावको विरोध गर्दै वडाध्यक्ष र सदस्यहरु नगरसभा हलबाट बाहिरिएका थिए । करारमा कर्मचारी भर्ना गर्न संघीय सरकारले यसअघिनै रोक लगाइसकेको अवस्थामा कानूनविपरित करारमा कर्मचारी भर्ना गर्ने प्रस्ताव नगरसभामा ल्याइएको उनीहरुले बताए ।

कानुनविपरित गरिने कार्यको विरोध गर्दा मेयरले विरोध गर्न नपाइने भन्दै आफूहरुको आवाज बन्द गर्न खोजेको उनीहरुको आरोप छ । नगरसभाको निर्णयमा आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न खोजे पनि मेयरले यसो गर्न नदिएको असन्तुष्ट वडाध्यक्षहरुको दाबी छ ।

‘संघीय सरकारले करारमा कर्मचारी भर्ना गर्न नपाइने निर्णय गरिसकेको छ,’ वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले भने । उनले भने, ‘गैरकानुनी कार्यप्रति हामीले असहमति राख्न खोज्यौं, तर हामीलाई ‘नोट अफ डिसेन्ट’ लेख्न दिइएनन् ।’

चित्त नबुझेको कुरामा असहमति व्यक्त गर्ने लोकतान्त्रिक अधिकार हुँदाहुँदै यहाँ मनोमानी गरिएको वडा नम्बर १५ का वडाध्यक्ष अशोक चौधरीले बताए । ‘करारमा कर्मचारी भर्ना हुँदा भविष्यमा अख्तियारले छानबिन गरे हामी त्यसको भागिदार बत्र चाहेका छैनौं,’ चौधरीले भने ।

करारमा कर्मचारी भर्ना गर्न नगरसभाबाट पारित गराइएको प्रस्तावविरुद्ध उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई लिखित जानकारी समेत दिएका छन् । यदि यसको सुनुवाई नभए उनीहरुले अदालतसम्म जाने चेतावनीसमेत दिएका छन् ।