संसद विघटनविरुद्ध आजबाट सर्वोच्चमा बहस हुँदै: यस्तो छ तयारी - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

संसद विघटनविरुद्ध आजबाट सर्वोच्चमा बहस हुँदै: यस्तो छ तयारी



काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ।

सर्वोच्चको सोही इजलासले गत जेठ २६ गते अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो। त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन् ।

विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

संवैधानिक इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । बुधबारबाट शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको रिटमा सुनुवाई हुनेछ । निरन्तर सुनुवाई शुरु भएपछि कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।

रिट, निवेदक तर्फका कानुन ब्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।