एकताले अरु शक्ति केन्द्रहरुमा भुईचालो गयो – पौडेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एकताले अरु शक्ति केन्द्रहरुमा भुईचालो गयो – पौडेल



बाग्लुङ :नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं २ प्रतिनीधि सभाको लागि वामगठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेलले देशको समृद्धि र विकासको लागि बाम एकता भएको बताए ।

निसीखोला गाउँपालिका—१, देविस्थानमा आयोजना गरिएको संयुक्त चुनावी सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पौडेलले तीनवटा बाम घटकहरुको एकताले गर्दा केही शक्ति केन्द्रहरुमा भुइचालो गएको धारणा समेत व्यक्त गरे । उनले आसन्न प्रतिनीधि तथा प्रदेशसभाको निर्वाचनमा बामगठबन्धनलाई दुई तिहाइको बहुमत प्राप्त हुने र त्यसले कम्तिमा पनि २० बर्षसम्मलाई कम्यूनिष्टहरुको राज्यसत्ताको आधार तयार गर्ने बताए । साथै उनले त्यही २० बर्षभित्रमा देश समृद्ध बन्ने स्पष्ट पारे।

कार्यक्रममा प्रदेशसभाका साझा बाम उम्मेदवार टेकबहादुर घर्तिमगरले ग्रामिण इलाकाहरुमा जनजीवनसँग जोडिएका महत्वपूर्ण पक्षहरुसँग आफुहरु परिचित भएकोले तिनीहरुको उपलब्धिको लागि बामगठबन्धनको जीत आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापामगरले जिल्लाका केन्द्र तथा प्रदेशको ६ वटै सिटमा बाम उम्मेदवारहरुको विजय हुने र जिल्ला फेरी एक पटक लालकिल्ला बन्ने कुरा बताए ।
नेकपा एमाले, नेकपा माओबादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा सम्मिलित बामहरुको गठबन्धनले अहिले आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिइरहेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार चुनावी सभा निसीखोला गाउँपालिकाकै राजकुटमा हुने निर्वाचन परिचालन कमिटिका संयोजक धर्मबहादुर कुँवरले बताए ।