बाढी पीडितलाई ढुङ्गा, माटो र अखाद्य बस्तु पठाउने तयारीमा खाद्य संस्थान - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बाढी पीडितलाई ढुङ्गा, माटो र अखाद्य बस्तु पठाउने तयारीमा खाद्य संस्थान



काठमाडौँ ।

सरकारले बाढी पीडितलाई पठाउन लागिएको खाद्य सामग्रीमा ढुङ्गा, बालुवा, अखाद्य बस्तु र माटो भेटिएको छ ।

नेपाल खाद्य संस्थानले चरम लापरबाही गरेको खुल्न आएकोछ । खाद्य संस्थाको थापाथलिस्थीत गोदाममा रहेको खाद्य बस्तुमा ढुङ्गा बालुवा र धुलो भेटिएको छ ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलले आइतबार साँझ गरेको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

मुगु र कालिकोटबाट ल्याएको सिमिमा ठेकेदारले ढुङ्गा, बालुवा र धुलो मिसाएको भेटिएको थियो । बाढी प्रभावित क्षेत्रमा पठाउनका लागि सिमि प्याकिङ्ग गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ्ग ठेकेदार भगवान् गिरीले बताए ।

‘प्याकेजिङ्ग गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १२ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो’ उनले भने ‘अहिले सबै अखाद्य बस्तु हटाएर शुद्ध बनाएर राखेका छाँै ।’

थापाथली गोदाममा ७ सय २० क्विण्टल सिमि राखिएको मध्ये ४० क्विण्टल बाढी प्रभावित क्षेत्रमा पठाइएको थियो ।

त्यस्तै गोदाममा रहेको ७ सय ८ क्विण्टल तितेफापरमा पनि धुलो फेला परेको छ ।

गोदाम प्रमुख न्यौपानेका अनुसार खाद्य संस्थानका तत्कालीन प्रमुख शिवहरी श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहन प्रकाश चन्दको पालामा खरिद गरिएको उक्त खाद्य बस्तुमा ठेकेदारसंगको मिलेमतोमा अखाद्य बस्तु मिसाईएको हो ।

‘सबै खाद्यवस्तुको खरीदमूल्य लुकाईएको छ विक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्थामा म भर्खरमात्र सरुवा भएर आएकोले सबै विवरण खोज्दै छु’ उनले भने ।

गोदाममा २०७२ सालमा भूकम्पपिडीतका लागि आएको चामल समेत वितरण नगरी राखिएको अवस्थामा भेटिएको छ ।

विग्रेको खाद्यान्न जनताकहाँ नपुगोस : मन्त्री

आपूर्ति मन्त्री मण्डलले कुहेको र फोहर मिसिएको खाद्यपदार्थ जनताकहाँ नपठाउन निर्देशन दिएका छन् ।

खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालल र गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

‘समस्या भएमा तुरुन्त खबर गर्नुहोला तर विग्रेको खाद्यबस्तु प्रयोग नहोस’ मन्त्री मण्डलले भने, ‘तुरुन्त सफा गरेर विक्रीको प्रबन्ध मिलाउनु होला ।’ उनले १० दिनभित्र गोदाम परीसर सरसफाई गर्न पनि निर्देशन दिए ।

गोदाममा ४० हजार ९ सय ३९ क्विण्टल चामल समेत रहेको छ । चुहिएर चामल, सिमी र फापर विग्रन सक्ने भएकोले तत्कालै मर्मत र सरसफाईको व्यवस्था मिलाउन पनि मन्त्रीले निर्देशन दिए ।

 

तस्बीर: बाह्रखरी