पत्रकारले बादलसँग प्रचण्डको तुलना गरेपछी…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग आफ्नो तुलना गर्न नहुने बताएका छन् ।
आज बिहान सुर्खेतमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चितवनको पुरानै क्षेत्रबाट णिर्वाचन लड्ने बताउँदै बादलसँग आफ्नो तुलना नै हुन नसक्ने बताए ।
उनले प्रतिनिधिसभाकाे सिट संख्यामा सहमति जुटाउँदै बिहीबार आफूहरू बैठकबाट उठेकाे र आज प्रदेशकाे पनि सिटमा सहमति जुटाएर भाेलिसम्म निर्वाचन क्षेत्रकाे पनि टुंगाे लगाइने दाबी गरे ।
‘हिजो अवेरसम्म बसेर गठबन्धनमा सिटकाे संख्या सहमतिको नजिक पुर्याएका छाैँ । अब एकैचोटि प्रदेश र क्षेत्र पनि टुंगो लगाउने गरी आज छलफल हुन्छ । आज दिनभर याे काम सकेर भोलि हामी फेरि बसेर समग्रमा टुंगो लगाउँछाैँ’, प्रचण्डले भने ।
उनले सिट बाँडफाँटका विषयमा गठबन्धन दलभित्र विमति नभए पनि अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल चलिरहेकाे बताए ।
‘एउटा कुरा के हो भने संख्या मात्रै टुंगो लगाउने भन्दा पनि कुन क्षेत्रमा कसले पाउने भन्ने कुरा पनि क्लियर गर्न हामी आज र भाेलि फेरि बैठक बस्दैछाैँ । गठबन्धनभित्र कुनै असहमति छैन । अझ प्रभावकारी बनाउनेबारे कुराकानी भइरहेकाे छ ।’
प्रचण्डले आफू यसपटक पनि चितवन–३ बाटै चुनाव लड्ने प्रष्ट पारे । ‘मैले पहिला नै भनिसकेकाे छु । मेराे क्षेत्र चितवन–३ हाे । म पहिला पनि त्यहीँबाट लडेकाे अहिले पनि त्यहीँबाट लड्छु’, उनले भने ।
त्यसाे भए बादलसँग प्रतिस्पर्धा हुन्छ तपाईंकाे भन्ने पत्रकारकाे प्रश्नमा प्रचण्डले भने, ‘तुलनै नहुने कुरा पत्रकार साथीहरूले नसोध्दा राम्रो हुन्छ ।’
प्रचण्डले चुनावपछि आफू राष्ट्रपति हुने र शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भएकाे कुरा निराधार रहेकाे बताए ।
‘त्यो सही होइन त्यो गलत हो’, पत्रकारकाे जिज्ञासामा उनले भने ।
उनले एमालेसँग अहिले सहकार्य वा एकताकाे सम्भावना कहिँकतै नदेखिएकाे बताए । ‘विगतका कामकारबाही प्रतिगमनका कुराहरू छन् । ती कुरा क्लियर नभइकन त्यो सम्भावना देखा पर्दैन’, प्रचण्डले भने ।