सुरक्षाकर्मीलाई गृहमन्त्री थापाको निर्देशन : अब कडा रुपमा प्रस्तुत हुनुहोस - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सुरक्षाकर्मीलाई गृहमन्त्री थापाको निर्देशन : अब कडा रुपमा प्रस्तुत हुनुहोस



गृहमन्त्री रामबहादुर थापाले सुरक्षाकर्मीहरुलाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका छन्।

गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कास्कीको पोखरामा शनिबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानुनको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरुद्ध काम गर्नेहरुप्रति कडा रुपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताए।

सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिँदै गृहमन्त्री थापाले जुनसुकै परिस्थितिको सामना गर्न सुरुक्षाकर्मीहरु तयार रहन आवश्यक रहेको समेत बताए।

समारोहमा गृहसचिव प्रेमकुमार राईले सबै सुरक्षा निकायहरुले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने बताए। उनले कानुनविपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार व्यक्त गरे।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा निमित्त प्रहरी महानिरीक्षकको कार्यभार समेत सम्हालेका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधि, गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।