बादलको निशानामा विप्लवदेखि सिके राउतसम्म, यस्तो छ प्लान
काठमाडाैं । नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल देशलाई विखण्डनतर्फ लैजाने तत्वहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेका छन् । गृहमन्त्रालयको बागडोर सम्हालेको १ सय दिन पूरा भएको उपलक्ष्यमा गृहमन्त्रीले यस्ता तत्वविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।
आफ्ना पूर्वसहकर्मीसमेत रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई गृहमन्त्रीले राज्यद्रोही शक्ति भन्दै यस्ता तत्वलाई निस्तेज पार्ने बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीले भने, ‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । जसले आफूलाई नेकपा विप्लव भन्छ ।’
चुनावका बेला ठाउँठाउँमा बम पड्काउनेदेखि एनसेलका टावरहरुमा हान्ने उनीहरु नै भएको गृहमन्त्रीले खुलासा गरेका छन् । उनीहरुलाई मुलप्रवाहमा ल्याउन सरकारले प्रयास गरिरहेको र प्रधानमन्त्रीले पनि मुलधारमा आह्वान गरेको उनले बताए ।
गृहमन्त्री बादलले तराई मधेसमा विखण्डनकारी शक्ति सलबलाउन थालेको बताए । सीके राउत, गोइत, ज्वाला सिंहको नाम लिँदै उनले भने, ‘उनीहरु अलग मधेस बनाउन चाहन्छन् । अलग देश बनाउन चाहन्छन् । मधेसको राजधानी पनि तोके ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा ‘फ्रि मधेस’को ब्यानर देखाउन पनि उनीहरु नै भएको गृहमन्त्री बादलले बताए ।