रामचन्द्र र जगन्नाथको लामो छलफल: 'ब्याक' हुनेमा सकारात्मक - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

रामचन्द्र र जगन्नाथको लामो छलफल: ‘ब्याक’ हुनेमा सकारात्मक



काठमाडौं – भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न आएका शिर्ष नेताहरू कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेललाई फकाउन बिहानैदेखि लागिपरेका छन् ।

गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेका छन्। बिहानै सुरू भएको छलफल भर्खरै सकिएको जनाइएको छ ।

बिहान होटल सिराइचुलीमा जगन्नाथ पौडेल, मीना खरेल र कृष्णलाल सापकोटासँग रामचन्द्र पौडेलले भेटवार्ता गरेका हुन्। भेटवार्ताका पौडेलले जगन्नाथलाई उम्मेदवारी निस्क्रिय पार्न अनुरोध गरेका स्रोतले बताएको छ।
जवाफमा जगन्नाथले कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै रहने अडान दोहोर्‍याएका थिए। उनले आफ्नो उम्मेद्वारी पार्टी बचाउनका लागि भएकाले यसमा धेरै लफडा नगर्न पार्टीलाई आग्रह गरेका थिए । जगन्नाथ र नेता रामचन्द्रबीच भएको छलफल निकै सौहार्द भएको बताइएको छ ।

भेटपछि जगन्नाथ पौडेल पहिलेभन्दा खुसी र प्रसन्न देखिएको बताइएको छ । दुई नेताबीच भएको छलफल सकारात्मक दिशातर्फ गएको स्रोतको दाबी छ । स्रोतका अनुसार जगन्नाथ ‘ब्याक’ हुने संकेत देखिएको बताइएको छ ।

निर्वाचन आयोगले तोकेको समयावधिमा जगन्नाथले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले उनलाई कारबाही गर्दै निष्कासन गरेको थियो। त्यसपछि उनी स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न लागेका हुन्।

भरतपुरमा आज सत्तागठबन्धनले चुनावी आमसभा आयोजना गरेको छ। जसलाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यसका लागि बुधबारै चितवन पुगिसकेका छन्।