डा उपेन्द्रलाई भेटेपछि बाबुराम भावुक बन्दै बाल्यकाल यसरी सम्झे (चिठ्ठीसहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डा उपेन्द्रलाई भेटेपछि बाबुराम भावुक बन्दै बाल्यकाल यसरी सम्झे (चिठ्ठीसहित)



पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले डा. उपेन्द्र देवकोटालाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

भट्टराई बिहिबार न्यूरो अस्पतालमा उपचारत बाल्यकालका साथी तथा सहपाठी देवकोटाको स्वास्थ्य अवस्था बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए ।

भेटबारे भट्टराईले फेसबुकमा पुराना यादहरुको सम्झना गरेका छन् । भट्टराईले देवकोटा उपचारका क्रममा रहेपनि उनको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत देखेको र उनी सोचेजति गम्भीर विरामी नभएको अनुभूत गरेको जनाउँदै प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाहरुको नियमहरुले उनी स्वस्थ रहने आशा पलाएको बताएका छन् ।

‘वहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा वहाँ सोचे जति गम्भीर विरामी भएको अनुभूत भएन र वहाँ आफैले आफ्नो जीवनको सीमाको फरक आँकलन गरेपनि प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाका नियमहरूले वहाँ स्वस्थ हुनुहुनेछ भन्ने आशा पलाइरह्यो,’ उनले लेखेका छन् ।

बाल्यकालमा देवकोटासँग खिचेको सामूहिक तस्वीरसमेत फेसबुकमा राखेर उनले देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लेखेका छन् ‘चाँडै ठीक हुनू मेरो साथी, तिम्रा सबै क्लासमेटहरु तिमीप्रति गर्व गर्छौं ।’

भट्टराईले देवकोटालाई भेट्दाको अनुभव अस्पतालको भिजिटर बुकमासमेत लेखेको बताएका छन् ।

‘संक्षिप्त भेटमा आज हामीले स्कुले जीवनको सुखद स्मरण गर्‍यौं, एक अर्काप्रति अन्तरहृदयदेखि सम्मान व्यक्त गर्‍यौं । सामान्य मान्छेको जीवनमा देश र जनता–समाजको निम्ति गर्न सक्ने जति काम सम्पन्न गरेकोमा सन्तोष व्यक्त गर्‍यौं र एक अर्काप्रतिको हाम्रो सोच र सम्बन्धबारे अरुले अनुमान गर्ने कुराहरुलाई खारेज गर्दै असल मित्रको रुपमा संसारबाट विदा हुने प्रण गर्‍यौं,’ उनले हस्तलिखित चिठीमा लेखेका छन् ।

नेता भट्टराई र देवकोटाले बाल्यकालमा गोरखाको अमरज्योती हाईस्कुल लुइँटेलमा कक्षा ५ देखि १० सम्म सँगै अध्ययन गरेका थिए भने राजधानीस्थित अमृत साइन्स क्याम्पसमा आइएस्सी सँगै अध्ययन गरेका थिए । देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको हो ।