हाम्रा एजेण्डा माओवादीसँग मात्रै मिल्छन्: डा.भट्टराई - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

हाम्रा एजेण्डा माओवादीसँग मात्रै मिल्छन्: डा.भट्टराई



पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रबार पार्टीको काठमाडौँ जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाएका हुन्। उनले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताए।

उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गरे। अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तरविरोध रहेको स्पष्ट पारे। उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताएका हुन्।

उनले भने, ‘संविधानका अपूर्णताहरु छन्। खासगरी संघीयता अपूर्ण छ। राष्ट्रपतिय प्रणाली लगायतका शासकीय सुधारका कुरा अपुरो छ। सुशासन ल्याउने कुरा, समृद्धि ल्याउने कुरा यी सबै कुरामा एजेण्डा कोसँग मिल्छ भन्ने ढंगले हामीले सबैसँग कुराकानी गर्‍यौँ। अन्तिममा आउँदा हामीले के देख्यौँ भने हामीसँग अलि बढी नजिक एजेण्डा मिल्ने भनेको त माओवादीसँगै हो। त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्नसक्छ।

तर अरुको सापेक्षतामा संघीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भन्ने त माओवादी पार्टी हामी छँदै त्यतिबेलै नोट अफ डिसेन्ट लेखेर राखेको हो। त्यसैले पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ। दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ। त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो। अहिले पनि त्यो मुद्दा उनीहरुसँग मिल्छ। भलै, सुशासन आदिको मुद्दाहरुमा हामी र उहाँहरु फरक छ। हामी चाहीँ सुशासन राम्रो सँग काम गरेर जानुपर्छ। र गलत ढंगले त्यस्ता तत्वहरुलाई साथ दिनु हुँदैन भन्ने कुरा हामी राख्छौँ। त्यहाँ हाम्रो थोरै अन्तर्बिरोध पनि छन्। अन्तर भएको हुनाले हामी अलग पार्टी हौँ। तर फेरि मुलभुत मुद्दा चाहीँ फेरि त्यहाँनिर मिल्छ। काँग्रेस सँग र एमालेसँग मिल्दैन।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको मुद्दा र पहिचान र अधिकारसहितको राज्यको संघीय पुनःसंरचनाको मुद्दा बढी माओवादीसँग मिल्छ। यो समानताले गर्दा पनि हामीले चुनावी तालमेल गर्दा विचारलाई पनि ध्यान दिनुपर्छ।’

उनले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभइ आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पारे। एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुनसक्ने बताए।