डा. बाबुराम भट्टराई र भिम रावलबिच चर्काचर्की - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

डा. बाबुराम भट्टराई र भिम रावलबिच चर्काचर्की



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल र पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच सामाजिक सञ्जालमै चर्काचर्की भएको छ ।

रावलले कैलालीको टीकापुर गएर डा. भट्टराईले दिएको अभिव्यक्तिको तिखो आलोचना गरेपछि चर्काचर्की सुरु भएको हो । उनले सोमबार बिहान ट्विटरमार्फत् समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका भट्टराईले टीकापुरमा दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

भदौ ७ गते टीकापुरमा आयोजित ‘थरूहट–थारूवान राष्ट्रिय सम्मेलन’ मा भट्टराईले राष्ट्रिय जनता पार्टी, नेपालका नेता रेशम चौधरीमाथि लागेको मुद्दालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताएका थिए । यस्तै उनले थारू र खस दुवैले आपसमा नभएर काठमाडौंका शासकसँग लड्नुपर्ने सुझाव मन्तव्यका क्रममा दिएका थिए ।

नेकपाका नेता रावलले भट्टराईको अभिव्यक्ति युट्युबमार्फत् सुनेको उल्लेख गर्दै मन्तव्यलाई उत्तेजनापूर्ण, सामाजिक सद्भाव बिथोल्ने, विभाजनकारी, षड्यन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार भनेका छन् । उनले ट्विटरमै प्रश्न गरेका छन्, “कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !”

यसै आलोचनालाई जवाफ दिँदै डा. भट्टराईले रावललाई तिखो जजाफ फर्काएका छन् । उनले भनेका छन् ‘मित्र भीम रावललाई प्रश्न-झापाआन्दोलन भजन गाएर भएको थियो? थारूहरूको जमीन खोसेर उनीहरूलाई नै कमैया, कमलरी बनाउनु “कम्युनिज्म” हो? तपाईंले थारू भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो? थारू/मैथिली/नेवारी भाषामा लोकसेवा जाँच दिनु परे तपाईँका कति सजातीय अहिले सचिव हुँदाहुन्?’