डा. भट्टराईले खोले प्रचण्डको झुट बोल्ने पुरानै शैलीको राज - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

डा. भट्टराईले खोले प्रचण्डको झुट बोल्ने पुरानै शैलीको राज



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई गम्भीर आरोप लगाएका छन्।

खासगरी प्रचण्डले बिहीबार जनयुद्ध दिवसको अवसरमा दिएको अभिव्यक्तिको खण्डन गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

प्रचण्डले तत्कालीन माओवादी द्वन्द्व र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जोडिएको एउटा यस्तो विवरण सार्वजनिक गरे, जसलाई उनीसँगै रहेर दस वर्ष द्वन्द्व हाँकेका नेता बाबुराम भट्टराईले खण्डन गरेका हुन्।

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेसका तत्कालीन सभापति कोइरालाले नै माओवादीलाई ‘ठूल्ठूला हमला गर्न’ सुझाएको बताएका थिए।

कोइराला र आफूबीच लगभग दिनदिनै कुराकानी हुने गरेको दाबी गर्दै प्रचण्डले भने, ‘कोइराला र मेरोबीच लगातारजस्तो, झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो। उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्‍यो, सदरमुकाम हान्नुपर्‍यो, अझै ठूल्ठूलो हमला गर्नुपर्‍यो भन्नुहुन्थ्यो। यो बढो विचित्रको थियो। यस्तो संसारमा कमै हुन्छ।’

दलहरूबीचको यस्तो विचित्र संयोगले नै दुई सय ५० वर्ष पुरानो राजतन्त्र अन्त्य भई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको उनको भनाइ थियो।

दाहालको यो भनाइ सामान्य विवरण होइन। यसमा तत्कालीन राजनीति, पूर्वप्रधानमन्त्री कोइराला र माओवादी द्वन्द्वको ऐतिहासिक पक्ष जोडिन्छ। तर, के यो भनाइ सत्य हो?

प्रचण्डसँगै रहेर माओवादी द्वन्द्वलाई नेतृत्व दिएका र शान्ति सम्झौतापछि पनि लामो समय सँगसँगै काम गरेका नेता बाबुराम भट्टराईले उनको यो भनाइ असत्य भएको बताएका छन्।

भट्टराईले गरेको ट्वीटले प्रचण्डको भनाइ खण्डन गर्छ। ठाउँ हेरेर बढाइचढाइ विषय प्रस्तुत गर्नु प्रचण्डको ‘जानेमानेको शैली’ भनी भट्टराईले व्यंग्य पनि गरेका छन्।

‘ठाउँ हेरेर त्यहीँको भाकामा गाउने र बढाइचढाइ ढंगले विषय प्रस्तुत गरेर तरंग ल्याउने प्रचण्डको जानेमानेको शैली हो!’ भट्टराईले ट्वीटमा लेखेका छन्, ‘जहाँसम्म गिरिजाबाबुको प्रसंग छ- त्यो सधैं हैन, तर २०६२ मंसिरमा १२ बुँदे सहमति भएपछि ज्ञानेन्द्रले माघमा नगरपालिकाको चुनाव घोषणा गरेको बेला त्यसलाई बिथोल्न आग्रह गर्नुभाको हो।’

पूर्वप्रधानमन्त्री कोइरालाले १२ बुँदे सहमति भइसकेपछिको बदलिँदो राजनीतिक परिवेशमा तत्कालीन राजा ज्ञानेन्द्रले घोषणा गरेको नगरपालिका चुनाव मात्र बिथोल्न आग्रह गरेको भट्टराईको ट्वीटले बताउँछ। यसबाहेक सदरमुकाम हमला गर्नू वा ठूल्ठूलो फौजी आक्रमण गर्नू भनेर कोइरालाले नभनेको उनले खुलाएका छन्।

प्रचण्डको उक्त भनाइप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।