गोरखामा बाबुराम भट्टराईको उस्तै क्रेज - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

गोरखामा बाबुराम भट्टराईको उस्तै क्रेज



काठमाडौं- पहिलो संविधानसभा चुनावमा दशैभरिमध्ये गोरखाबाट अत्यधिक मतले डा बाबुराम भट्टराईले जिते। जुन चुनावले बाबुरामले गोरखा र गोरखाले बाबुराम दुबैलाई चिनाउने मौका दियो। समयकाल खण्ड अनुसार उनै भट्टराईले माओवादी छोडे। नयाँ शक्ति बनाउने अभियान थाले। भट्टराई अहिले नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा छन्।

पार्टी त्याग र ध्रवीकरणसँगै बाबुराम गोरखामा कमजोर भए भन्ने धेरैको आँकलन थियो। गोरखा नआउने र बाबुरामबारे नबुझ्नेले अहिले पनि विभिन्न टिप्पणी गर्दै आएका छन्। जसपाको सुज अभियानको दोस्रो दिनसम्म गोर्खाली जनताको बाबुरामप्रतिको माया र भरोसा उस्तै रहेको प्रष्ट संकेत गरेको छ। सुज अभियान लिएर जनताको घर–घरमा पुगेका बाबुरामलाई जनताले दिएको माया, साथ र विश्वासले भट्टराई खुसी देखिन्छन्।

सोमबार बाबुरामले ध्याल्चोक गोरखाबाट सुज अभियान सुरु गरे। सुज अभियानको पहिलो कार्यक्रम गण्डकी गाउँपालिकाको वडा नम्बर ८ वरफेरीमा भयो। त्यस कार्यक्रममा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो। यति मात्रै होइन, पहिलो दिनको गण्डकी गाउँपालिका तोरी स्वारा, वेनीगाउँ, रामपुर, दरबुङफाँटमा पनि यो या त्यो पार्टीका नेता कार्यकर्ता भन्दा पनि बाबुरामकै पक्षमा अथवा विकास र समृद्धिको पक्षमा खुलेर बाबुरामलाई हेर्न र सुन्न आएका थिए।

पहिलो दिन मात्रै होइन सुज अभियानको दोस्रो दिन गण्डकी गाउँपालिकाको वडा नम्बर ३, ४ ढकालगाउँ, ३ आमडाँडा, याङ्दी हुँदै सहिद लखन गाउँपालिकाको घैरुङ, नाम्जुङ र भीमसेन थापा गाउँपालिकाको क्यामुङटार, पिपलटारमा देखिएको जनसहभागिताले बाबुरामप्रतिको पूर्ण भरोसा र आशा चित्रित हुन्छ। सँगै बसेर जनताको कुरा सुन्न घरघर पुगेका बाबुरामले विकास र समृद्धिलाई ध्यानमा राखेर जनतासँग साक्षात्कार गरेका थिए।

क्यामुङटारको पाटनदेवी माध्यमिक विद्यालयको चौरमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता दिलबहादुर कुमालले बाबुरामलाई जननेता भन्दै उनीमाथि गोर्खालीको भाग्य र भविष्य जोडिएको बताए। पाटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कुमालले स्थानीयको प्रतिनिधित्व गरेर बूढीगण्डकी आयोजना, त्यसले पार्ने प्रभाव, किसानका समस्यालगायतका विषयमा बोलेका थिए। कुमालले खुलेरै बाबुरामको प्रशंसासँगै रचनात्मक आलोचना पनि गरेका थिए।

सुज अभियानको दोस्रो दिन बास बस्न भीमसेन थापा गाउँपालिका पिपलटार आइपुगेका बाबुरामसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा स्थानीय खुशी थिए। कार्यक्रममा पनि जसपासँगै एमाले, माओवादी, कांग्रेस नेता कार्यकर्ता सहभागी थिए। यहाँ पनि माओवादी केन्द्र भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र श्रेष्ठलगायका स्थानीय एमसीसी बूढीगण्डकीलगायत राष्ट्रिय मुद्दाहरुमा बाबुरामसँग जिज्ञासा राखेका थिए।

यति मात्रै होइन, पुरानो पार्टीलाई बिर्सेर गोरखाका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयले बाबुरामलाई विश्वास र समृद्धिको बाहकको रुपमा पनि हेरेका थिए। जनतासँग जोडिएको सम्बन्ध र जीवनशैलीले बाबुरामलाई गोर्खालीले अभिभावक र देशको अभिभावकको रुपमा पनि हेरेका छन्।