डा. बाबुराम भट्टराई पनि जग्गा काण्डमा फसे - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

डा. बाबुराम भट्टराई पनि जग्गा काण्डमा फसे



काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको समयमा भएको जग्गा अनियमितताको छानबिन गर्ने बताएका छन्।

शनिबार प्रतिनिधिसभामा सरकारको दुई वर्षे उपलब्धिबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले मातातीर्थमा रहेको नेपाल ट्रष्टको जग्गा व्यक्तिका नाममा पुर्‍याइएको भन्दै छानबिन गर्ने प्रष्टाएका हुन्।

‘मातातीर्थस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको करिव १७४ रोपनी जग्गामा भएकाे कानुनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको छ,’ उनले भने, ‘ललिता निवास जग्गा प्रकरणजस्तै गरी यस काण्डको पनि सोहि अनुरुप छानबिन हुन्छ।’

केही व्यक्तिलाई लाभ पुर्‍याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै यस्ताे निर्णय गरिएको देखिएको प्रधानमन्त्री ओलीले बताए।

नेपाल ट्रष्ट ऐन २०६४ को दफा (४)को उपदफा (२) र (३) विपरित निर्णय गरी सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको उनले बताए।

डा भट्टराई प्रधानमन्त्री रहेको समयमा मातातीर्थमा रहेको नेपाल ट्रष्टको जग्गा २०६९ साल कात्तिक २ मा निर्णय गरी व्यक्तिका नाममा पुर्‍याइएको थियो।

‘नेपाल ट्रष्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुनेगरी उपयोग र प्रवर्द्धन गर्ने काम सरकारले कानुन बमोजिम गर्छ,’ ओलीले भने।

मन्त्रिपरिषद्को‌ निर्णयको आधारमा काठमाडौंको मातातीर्थ र थानकोटस्थित ७७ वटा कित्ताका करिव १ सय ७४ रोपनीभन्दा बढी नेपाल ट्रष्टको जग्गा व्यक्तिको नाममा सारिएको थियो।