सरकारबाट बाहिरिने बाबुराम भट्टराईको चेतावनी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

सरकारबाट बाहिरिने बाबुराम भट्टराईको चेतावनी



काठमाडौं- समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले दसैं-तिहारसम्म संविधान संशोेधनकाे प्रतिबद्धता नजनाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान संशाेधनको माग पूरा गर्न केही समय कुर्ने र त्यसपछि पनि नभए सरकारबाट बाहिरिएर आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन्।

‘संविधान संसोधनका लागि केही समय कुर्छौं। दसैं र तिहारसम्म कुरेपछि पनि संविधान संशाेधन नभए सरकारबाट बाहिरिन्छौं,’ ११ प्रदेशको अडानमा कायम रहेका भट्टराईले भने, ‘हामी ११ प्रदेशको मागमा कायम छौं। ११ वा १० प्रदेशमा जानुपर्छ भन्‍ने हाम्रो माग हो।’

नागरिकता वितरणको प्रसङ्गमा अनावश्यक कडाइ गरेकोमा उनको आपत्ति थियो। नागरिकता वितरणलाई खुकुलो पार्नुपर्ने बताउँदै उनले थपे, ‘कडिकडाउ गर्न जरुरी छैन।’

समाजवादी पार्टी नेपालका तर्फबाट वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित तीन मन्त्री छन्। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् भने सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको हैसियतमा वर्तमान सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका छन्।