बाबुरामप्रति घोर असन्तुष्टि
काठमाडौँ – नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीच पार्टी एकता भएको तेस्रो दिन नयाँ शक्तिका नेताहरूले छुट्टै भेला गरेका छन्। फोरमसँगको एकताबाट रुष्ट भएका नयाँ शक्तिका नेताले वुधबार बिहान बेग्लै भेला गरेका हुन्।
ललितपुरमा भएको भेलामा नेता देवेन्द्र पराजुली, कल्पना धमला, रामरिझन यादव, मदन राईलगायत प्रभावशाली नेता सहभागी छन्। धमला पूर्व विज्ञानमन्त्री हुन्। भट्टराई प्रधानमन्त्री हुँदा यादव प्रेस संयोजक थिए। राई कृषि विज्ञ हुन्। उनीहरूले फोरमसँग नयाँ शक्ति विलय गराएको भन्दै बाबुराम भट्टराईप्रति आक्रोश व्यक्त गरेका छन्। ‘पार्टीमा छलफल नै नगरी पार्टी एकता भएको भनियो’ नेता देवेन्द्र पराजुलीले भने, ‘एक नेताको ईच्छा जे लाग्यो, त्यही हुन्छ ?’ भेलामा सहभागी नेताले आफूहरू फोरमसँगको एकता बनेको पार्टीमा नभएको बताएका छन्।
‘अब हामी फरक तरिकाले अघि बढ्छौँ’ एक नेताले भने। ‘हिजो नयाँ बनाउने भन्दै हिँडेका हौँ। के कति नयाँ भयो हेर्नु पर्ने अवस्था आएको छ,’ पराजुलीले भने, ‘५ ‘स’को एजेण्डा कहाँ पुग्यो ? किन छोडियो ? यसमा प्रर्याप्त बहस तथा छलफल नै नगरी पार्टी एकता गर्नु राम्रो भएन।’ नयाँ शक्ति पार्टीले एकता गर्नुभन्दा पहिला केन्द्रीय समितिको बैठक बोलाएको थियो। तर बैठकमा कुनै पनि एजेण्डामाथि बहस र छलफल नै गर्न नदिएको आरोप छ।
एकताको नाममा पार्टी विलय गराएको भन्दै नयाँ शक्तिका दर्जनौँ नेता असन्तुष्ट छन्। ‘झण्डा, चुनाव चिह्न र नाम पनि उतैको भएपछि केको एकता भयो ?’ भेलामा सहभागीले प्रश्न गरेका छन्। ‘सङ्घीय हटाएर समाजवादी राखेको छ। नयाँ शक्तिको त केही पनि समावेश छैन। कार्यकारी अध्यक्ष पनि उपेन्द्रलाई नै दिएको छ।’ यस्तो एकता स्वीकार्न सकिँदैन’ एक नेताले भने।