असन्तुष्ट समूहलाई बाबुरामले भने - एक्लै हिँडेर कहीँ पुगिँदैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

असन्तुष्ट समूहलाई बाबुरामले भने – एक्लै हिँडेर कहीँ पुगिँदैन



काठमाडौँ– नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन्। वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरेको उनको भनाइ थियो।

पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग बिहीबार भेट गर्दै नेता भट्टराईले फोरमसँग मिल्नु बाध्यता भएको बताएका हुन्। ‘एक्लै हिँडेर कहीँ नपुगिने भएकोले एकता गर्न बाध्य भयौँ, वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको छ ।’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले भने।

भट्टराईले समाजवादी पार्टीलाई अझ बलियो र सशक्त बनाउन असन्तुष्ट नेताहरूसँग आग्रह गरे। ‘पार्टी एकताले शुभेच्छुकहरूमा सकारात्मक सन्देश गएको छ। असन्तुष्टि फैलाएर र मिडियाबाजी गरेर नहिँड्नूस’ भट्टराईको आग्रह थियो।

परम्परागत संसदवादी दलहरू मक्किदै गएको अवस्थामा देशलाई सही निकास दिनका लागि वैकल्पिक धारलाई बलियो बनाएर जानुको विकल्प नभएको उनले बताए।

असन्तुष्ट समूहले देश सङ्‌घीय प्रणालीमा गई राजनीतिक स्थायीत्वीको बाटामा गइसकेको अवस्थामा फेरि ११ प्रदेशको माग र जातीय एजेन्डा उचाल्ने कुराप्रति असन्तुष्टि जनाएका थिए।

उनीहरूले पार्टीको नाम, झण्डा र नेतृत्व स्वीकार गरेर उपेन्द्रसामु समर्पण गरेको भन्दै निर्णय सच्चाउन ज्ञापनपत्र मार्फत् माग गरेका छन्।

पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाल लगायत छन्। उनीहरूले छलफललाई जारी राख्‍ने निर्णय गरेका छन्।

असन्तुष्ट केन्द्रीय सदस्यहरू नेकपा प्रवेश गर्ने हल्ला भने गलत रहेको केन्द्रीय सदस्य नारायण तिवारीले जानकारी दिए।