स्वास्थ्य : खाद्य पदार्थको सम्बन्ध क्यान्सरसँग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वास्थ्य : खाद्य पदार्थको सम्बन्ध क्यान्सरसँग



 -बाबुलाल भण्डारी 

द्वितीय विश्वयुद्धका बेला, मे १०, १९४० मा नेदरल्यान्ड (हल्यान्ड) माथि नाजी जर्मनीको बलात् सैनिक कब्जा भयो र त्यहाँको नाजी आधिपत्य मे ५, १९४५ मा जर्मनीको आत्मसमर्पण र विश्वयुद्धको समाप्तीसम्म कायम रह्यो। यस युद्धमा पश्चिम युरोपेली राष्ट्रहरू मध्ये सबैभन्दा धेरै यहुदी र आम मानिसहरूको कत्लेआम हुने देश पनि खासमा हल्यान्ड नै बन्यो।अघि देखि नै आर्थिक मन्दीबाट गुज्रिरहेको हल्यान्डको अर्थतन्त्रमा यस परिघटनाको यति गम्भीर असर पऱ्यो कि आउँदो झण्डै ३० वर्षसम्म त्यहाँका भान्सामा चिनी, चियापत्ती, कफी, वनस्पति घ्यू, मैदा, मादक पेय, मासु र सबै खालका प्रसोधित खाध वस्तु दुर्लभ बने। तर यसवाट एउटा आश्चर्यजनक तथ्य उजागर भयो — यस बीचमा त्यहाँ क्यान्सरबाट पीडित हुनेको सङ्ख्या झण्डै शून्यमा झऱ्यो।यसरी खानपान र क्यान्सरबीच पहिलो पटक प्रत्यक्ष र बलियो सम्बन्धको खुलासा भयो।यसरी देखियो केही खानाहरू क्यान्सरको उत्पत्ति र वृद्धिको कारण बन्दा रहेछन् भने प्रकारान्तरले अरू केही खानाहरूले शारीरिक स्वास्थ र प्रतिरक्षा शक्तिलाई बलियो पार्दै क्यान्सरको रोकथाम र उपचारमा प्रबल भूमिका खेल्दा रहेछन्। दुर्भाग्यवश सही जानकारीको अभावमा आज पनि हामी धेरैले क्यान्सरलाई सघाउ हुने खाना खाईरहेका हुन्छौँ।

क्यान्सर रोकथाम र उपचारको सवालमा एउटा ठूलै गल्ती खाद्यवस्तुको डिप कुकिङ (धेरै बेर पकाउनु)लाई मानिएको छ।आजकल प्रेशर कुकर र माइक्रोवेभ ओभनको प्रयोगले यस्तो सम्भावना ज्यादा बढाइदिएको छ। समस्या के हो भने, यसरी पकाउँदा क्यान्सरका ज्यादै सशक्त उपचार मानिने बिभिन्न इन्जाइम लगायत फोलेट र अरू भिटामिन बि.एवम् सिदेखि लिएर स्पेनमा भएको एउटा अध्ययन अनुसार सबैजसो क्यान्सरविरोधी ल्फेभोइडहरू समेत नष्ट हुन्छन् र खाद्यवस्तुको पोषणमानमा ठूलो कटौती आउँछ। काँचै खाइने फलफूल र सागसब्जीहरू आफैँमा क्यान्सरका भरपर्दा उपचार हुन् भन्ने कुरो अब अनुसन्धान मात्र होइन अनुभव सिद्ध भइसकेका छन्।७ जनवरी २००७ को सन्डे एक्स्प्रेसले अमेरिकी कल्ट टिभी ‘दि ए टिम’ का अभिनेता डर्क बेनेडिक्टले हेम्पसायर कटेजमा बसेर कुनै औषधिको प्रयोग बिना काँचो फलफूल र सागसब्जीको भरमा आफ्नो क्यान्सर पूर्णरूपमा निको पारेर हलिउडमा फर्केको खबर छापेको छ। ठीक यही कुरा अरू कैँयौ व्यक्तिहरूमा पनि लागू भएको छ। यसर्थ पकाइने चिजबीज पनि थोरै तापक्रममा हल्का बफाउनु वा नरम मात्र बनाउनु उत्तम हो।४१ डि.से(१०७ डि.फ. )मात्रै तापले पनि अधिकांश इन्जाइम नष्ट हुन्छन्।बढी पकाएर इन्जाइम सबै नष्ट भइसकेको खाना नै हाम्रो हकमा क्यान्सर उत्पत्तिको सबैभन्दा ठूलो कारणका रूमा देखापरेको छ। हुन पनि यस विशाल प्रकृतिमा लाखौँ जलचर, स्थलचर र नभचर जीवमध्ये मानिस बाहेक अरू कसैले खाना पकाउँदैनन् र प्रकृतिको विधान पनि यही हो कि हरेक खाद्यवस्तु प्रकृतिमा जेजस्तो रूमा तयार हुन्छ त्यही रूपमा नपकाई खाइयोस्।मानिसलगायत सबै जीवहरूका पाचन अङ्ग सोही अनुरूप बनेका छन्। खाना पकाउनु भनेको मानव सभ्यताको उपज हो र यो प्रकृतिको आदेशको सरासर प्रतिकूल पनि हो। हाम्रो पाचनक्रिया प्राकृतिक खाद्यवस्तु मात्र पचाउने ढाँचामा बनेको छ। पकाइसकेको खाना पेटबाट नपचेकै अवस्थामा तल्लो पेटमा आइपुग्‍ने हुँदा थप डाइजेस्टिभ इन्जाइम बनाउन प्यानक्रियाजमा बढी दबाव पर्ने र समयक्रममा प्यानक्रियाज कमजोर भई यही नै क्यान्सर उत्पत्तिको कारण बन्ने देखिन्छ।यसैले पनि प्राकृतिक र वैकल्पिक उपचार पद्धतिहरूमा भोजनको कम्तिमा पनि ७० भाग सलाद हुनु पर्नेमा जोड दिएको पाइन्छ।अचेल माइक्रोवेभ ओभनले खाना पकाउन ज्यादा सजिलो पारेको छ तर आधुनिक प्रविधिले ल्याएको हरेक यस्तो सजिलोपनका लागि हामीले ठूलो मूल्य चुकाएका हुन्छौँ र यो स्वास्थको हिसाबले ज्यादा महङ्गगो साबित भइदिन्छ।ज्यादा गल्ने गरी पकाएको खानाको अणु संरचना र रासायनिक गुणधर्ममा नै परिवर्तन आएको हुन्छ र पौष्टिकता धेरै अंशमा नष्ट भएको हुन्छ। क्यान्सर उपचारमा अत्यन्त प्रभावकारी  मानिएको कलेक्ट बड बिग प्रोटोकल विकास गर्ने जर्मनीकी प्रसिद्ध बायोकेमिस्ट एवम् फर्माकोलोजिष्ट डा. जोहन्ना बगबिग (भौतिकी र रसायन शास्त्रमा दोहोरो विद्यावारिधि)ले क्यान्सर रोगीहरूलाई खाना पकाउने स्टोभ बेचेर जुस बनाउने मेसिन किन्न सल्लाह दिन्छिन्।सुन्दा थोरै अतिवादी जस्तो लागे पनि यो भनाई कम ममस्पर्शी छैन।अझ माइक्रो ओभन प्रयोग गर्दाको अवस्थामा  प्लास्टिकबाट बिस्फानोल र अरू क्यान्सरकारक विषादि र रेडिएसन चुहावटको समेत थप खतरा रहन्छ।तसर्थ क्यान्सर रोकथाम र उपचारमा यथासक्य काँचै खाइने वस्तुलाई प्राथमिकता दिने र पकाउनै पर्दा पनि चिनीयाँहरूले जस्तै हल्का स्टिमिङ्ग (बफाउनु)मात्र राम्रो हुन्छ।

मासुजन्य वा ननभेज खाना खाने व्यक्तिहरूलाई शाकाहारी व्यक्तिको अपेक्षा क्यान्सर हुने सम्भावना दुई गुणा बढ्ता हुने बिभिन्न अध्ययनले देखाएका छन्। यसै पनि वनस्पतिमा आधारित खाद्य वस्तुले सबै मेटाबोलिक अर्थात् नसर्ने प्रकृतिका रोगको सम्भावनालाई  सरदर ३६% ले कमी ल्याउने बिभिन्न अनुसन्धानका निचोड आएका छन्।सागसब्जी र फलफूलमा पाइने भिटामिन के र डाइटरी फोलेट (फोलिक एसिड)को क्यान्सर उत्पत्ति र विकाससँग ठीक विपरीत सम्बन्ध भेटिन्छ। फोलेटले सेलभित्र डि.एन.ए.को खराबीलाई सुधारेर क्यान्सरको प्रतिकार गर्छ भने भिटामीन ‘के’ले ट्युमरलाई बढ्न र अन्यत्र सर्नमा रोकावट ल्याउछ। यद्यपि, रगत बाक्लो हुने र मुटुमा ब्लकेजको समस्यामा भने भिटामिन ‘के’को प्रचुरताले गर्दा बढी सागसब्जी राम्रो मानिँदैन। अन्यथा खानामा जति धेरै प्रकारका प्राकृतिक रङ भएका फलफूल र सागसब्जी जुट्न सक्यो हामीले त्यति नै बढी क्यान्सरसँग लड्ने पोषक तत्त्व पाउन सक्दछौँ। यसबाहेक शाकाहारी भोजनले शरीरका वर्षौँदेखि थुप्रिँदै आएका विषादिलाई बाहिर निकाल्न र शरीरलाई शुद्धिकरण गर्नमा समेत मद्दत गर्दछन्।यस हिसाबले मांसाहार र अझ बिशेषगरि रातो मासु कदाचित् उचित खाना होइन। डा.टि.कोलिन क्याम्पबेलको ३५ बर्ष सम्मको गम्भीर अध्ययनको निचोड पनि यही हो र टि. माधवन र सि. गोपालनको अध्ययनबाट पनि एनिमल प्रोटिन र क्यान्सरबीच यही सोझो सम्बन्धको पुष्टि भएको छ। मासुमा हुने जैविक हर्मोनहरू, परजीवि र जनावरलाई खुवाइएका एण्टीबायोटिकहरू क्यान्सर बिरामीका लागि अत्यन्त हानीकारक साबित हुन्छन्। मासु छाड्न कठिनाई हुनेहरूले पनि मासुको मात्रा र खपतको आवृत्तिलाई घटाउँदै लग्‍ने र बोसोरहित मासु छनौट गरी पकाउनु भन्दा १ घण्टा अघि मसला मलेर राख्दा राम्रो हुन्छ। तर डिप कुकिङ गरेको, बढि तारेको, भुटेको र आगोको लप्कामा सेकेको मासुबाट भने हरहालतमा बच्‍नु जरुरी छ। बढी तापक्रम र आगोको लप्काले मासुमा क्यान्सरकारक तत्त्व थपेको हुन्छ। मासुलाई बार्बिक्यु गर्दा पनि मसला वा ससमा मोलेर आगोको लप्काले यसलाई नछुने तर्फ सतर्कता अपनाएको राम्रो हुन्छ। अझ प्याक भएर आउने प्रसोधित मासु यतिसम्म हानिकारक छ कि खाँदै नखानु नै यसको सही मात्रा हो। आज समाज एडिक्टिभ कन्जुमरिजमले आक्रान्त छ र सबैतिर बट्टा, वोतल र प्याकमा आएका प्रशोधित खाद्य र पेयको भरमार प्रयोग देखिन्छ। यस्ता वस्तुमा ग्लुकोज,सोडियम र अम्लकारक वस्तु अत्यधिक हुने हुँदा यिनीहरूलाई न्यून गरी अप्रशोधित होलफुड लिने गर्दा क्यान्सर मात्र होइन अरू धेरै रोगहरूबाट समेत सजिलै बच्‍न सकिन्छ।क्यान्सरको सम्बन्धमा हामीले के कस्ता वस्तु खान्छौँ भन्दा केकस्ता वस्तु खाँदैनौ भन्ने कुराले बढ्ता अर्थ राख्छ।त्यसैले पनि सेतो नुन, चिनी, मैदा, नुडल्स समेत सबै कोल्ड र इनर्जी ड्रिङक्स जस्ता अप्राकृतिक प्रशोधित वस्तुबाट क्यान्सरका बिरामीले सधैँ बच्‍नु आवश्यक छ।

हामी धेरैलाई थाहा नभएको क्यान्सर उपचारको सर्वाधिक महत्त्वको पक्ष के हो भने ग्लुकोज अथवा गुलियो वस्तु नै क्यान्सरको एकमात्र खुराक हो। त्यसैले जति बढी हामी गुलियो चिज खान्छौँ त्यही हिसाबले क्यान्सर पनि बढ्दै र फैलिँदै जान्छ। यसर्थ क्यान्सरलाई भोकै राखेर परास्त गर्न चिनीलाई यस्को कुनै पनि रूपमा सेवन गर्न बन्द गरी केटोजेनिक डाइट सुरु गर्नु उचित मात्र नभएर अनिवार्य हो। यस्तो केटोजेनिक डाइटका प्रमुख अवयवमा स्वस्थ फ्याटहरू पर्दछन् जसले क्यान्सर उपचारमा शक्तिशाली औषधिका लागि पनि मुस्किल हुने काम सम्पन्न गर्दछन्।शरीरमा इन्सुलिनको तह नियन्त्रणमा रहेमा क्यान्सरसँगको लडाइँ पनि सहज हुन्छ तर हरेक गुलियो वस्तु र बढी प्रोटिनले  इन्सुलिनलाई बढाई दिन्छन् जबकि फ्याटले त्यसो गर्दैन।गुलियो वस्तु र अझ विशेषगरी फ्रुक्टोजले शरीरमा हानीकारक जीवाणु र विषाणुहरूलाई भरण–पोषण गरेको हुन्छ र फ्रि रेडिकलहरूलाई पनि वृद्धि गरेको हुन्छ। यी सबैले क्यान्सरलाई बढ्नमा प्रत्यक्ष भूमिका खेलिरहेका हुन्छन्। डा.होर्नेटले क्यान्सरमा मात्र नभएर अरू सबै दीर्घरोगहरूमा समेत चिनीलाई युनिभर्सल मेकानिजम भनेर सप्रमाण पुष्टि गरेका छन्। यथार्थमा चिनीले शरीरको अम्लियता  वृद्धि गर्ने, हाम्रो स्ट्रेस लेबललाई बढाइदिने सङ्क्रमणलाई अरू फैलाइदिने र असामयिक वृद्धावस्था निम्त्याउने निष्कर्षमा प्रायः सबैजसो अध्ययनहरू पुगेका छन्।

फ्याट शरीरको महत्त्वपूर्ण पोषक तत्त्व हो र कुनै कुनै भिटामिनलाई शरीरले अवशोषण गर्न पनि फ्याट नभई हुँदैन।तर हेक्का रहनु पर्दछ,सबै फ्याट स्वास्थ्यका लागि राम्रा हुँदैनन्।एनिमल स्रोत(मासु र डेरी)बाट प्राप्त हुने अनि हाइड्रोजिनेसन प्रविधिबाट बन्ने वनस्पति घ्यूलाई स्याचुरेटेड र ट्रान्सफ्याट भनिन्छ जुन स्वास्थ्यका लागि हानीकारक हुन्छ। यस्तो फ्याटले कोलेस्टेरोल (एल.डि.एल) र ट्राइग्लिसेराइड बढाउने, राम्रो कोलेस्टेरोल (एच.डि.एल) लाई उल्टै घटाइदिने जस्ता काम गरेर रक्तचाप, हृदयरोग,मधुमेह र क्यान्सरसम्मको कारण बन्न जान्छ।अर्को तिर सूर्यमुखी, ओलिभ, सोया, कर्न, नरिवल र आलस जस्ता धेरै तैलिय पदार्थको अनसेच्युरेटेड फ्याट स्वस्थ हुन्छ र यसका ओमेगा– ३ समेतका पोषण र औषधीय गुणले स्वभावत शरीरका धेरै प्रणालीमा सुधार ल्याउँछन्। फेरि राम्रो र नराम्रो फ्याटबीच विभेद गर्न  कठिन पनि छैन।कोठाको सामान्य तापक्रममा पनि जम्ने फ्याटलाई सामान्यतयाः नराम्रो र नजम्‍ने तरल फ्याटलाई राम्रो मानेर काम चलाउन सकिन्छ। हो, बरु बढी मोटा व्यक्तिहरूले अतिरिक्त बोसो घटाउने  र बडी मास इन्डेक्स (बि.एम.आइ)लाई सामान्य गर्न व्यायाम वा प्रणायामका उपाय गर्नु जरुरी छन।शरीरको (बि.एम.आइ)२५ देखि २९.५ सम्म भएमा ओभरवेट र ३० वा सो भन्दा बढी भएमा(ओबिज्ड) मोटोपन ठहरिन्छ।क्यान्सरबाट हुने मृत्युका आँकडा मध्ये कमसेकम २०% कुनै न कुनै  रूपमा ओबेसिटी(मोटोपन)सँगै जोडिएका भेटिन्छन्। फ्याट सम्बन्धमा अर्को एउटा कुरा याद हुनु जरुरी छ– घ्यू वा तेललाई धेरै तापक्रममा पकाउने(वा खार्ने),उही घ्यू वा तेललाई पटकपटक प्रयोग गर्ने र पारदर्शी बोतलमा प्रकाश पर्ने गरी भण्डारण गर्दा यस्मा क्यान्सरकारक तत्त्व बढ्ने भई हानीकारक बन्न जान्छ।त्यसैले पनि अघिअघि तेल वा घिउलाई काठका हर्पे वा ठेकीमा सुरक्षित गर्ने चलन थियो जो धेरै वैज्ञानिक थियो।

प्रकृतिमा ओमेगा –३ फ्याटी एसिडको सबैभन्दा ठूलो स्रोत आलसको तेललाई मानिन्छ। सालमन, सार्डिन, कड र म्याकरेल जस्ता सामुद्रिक माछा सहज उपलब्ध नहुने हामी कहाँ यही नै ओमेगा –३ को भरपर्दो स्रोत पनि हो। ओमेगा –३ को सेवनले सेललाई क्यान्सरजन्य हुनबाट रोक्ने लगायत अन्य दर्जनौँ तरीकाबाट क्यान्सरविरूद्ध काम गर्दछ।एस्ट्रोजेन संवेदनशील मानिने स्तन, कोलन, गर्भाशय , प्रोस्ट्रेट र पाठेघरका क्यान्सरमा यो अझ ज्यादा प्रभावकारी बताइन्छ।यसले हुबहु टेमोक्सिफेन र एरिमिडेक्स जस्ता क्यान्सरका महङ्गा बिदेशी औषधिहरूकै तरिकाबाट काम गर्दछ।भनाईको मतलब, यसले पुरुष हर्मोन एण्ड्रोजिनलाई स्त्री हर्मोन एस्ट्रोजेन बदल्ने इन्जाइमलाई नै निष्क्रिय पारेर क्यान्सर बन्ने प्रक्रियामा नै दखल दिन्छ र माथिका औषधिबाट हुने दुस्प्रभाव पनि आउन दिँदैन। तर पकाउन नहुने र प्रोस्ट्रेटसम्बन्धी समस्या हुने पुरुषहरूका लागि उपयुक्त नहुने यसका केही दुर्बलताहरू छन् ।

अब कुरा आउँछ दूधको। दूध स्वास्थ्यवर्द्धक पौष्टिक आहार हो भन्ने हाम्रो बनिबनाउ धारणा छ। हो, वनपाखामा चर्ने र प्रशस्त प्राकृतिक जडीबुटी खाएका हाम्रा रैथाने जातका गाई भैँसीको दूध निश्चित रूपले हितकारी नै हुन्छ।तर नश्लसुधार गरिएका, सधै बाँधेर राखिएका, बनावटी फिडमा भरपर्ने र बढी दूध उत्पादनका लागि हर्मोन दिने गरेको गाई वा भैँसीमा यो नियम लागू हुँदैन।यस्तो दूधले पाचनयन्त्रमा म्युकस निर्माण गरी क्यान्सरलाई मद्दत गर्छ र यसमा पाइने एस्ट्रोजेन हर्मोनले पनि ट्युमर वृद्धिलाई नै सघाउँछ।यसर्थ दूधको मात्रा हामी जति बढी लिन्छौँ त्यति नै अनुपातमा स्तन, प्रोस्ट्रेट, गर्भाशय र कोलोन क्यान्सरको सम्भावना बढेर जान्छ। पेट्रिक हटफोर्ड भन्दछन् – स्विडेन, नर्वे, आइसलैन्ड र स्विट्जरलैन्डमा क्यान्सरबाट हुने मृत्युका धेरै घटनाहरूमा दूधको ज्यादा खपतनै पहिलो कारणको रूपमा देखा पर्दछ। दूध र खासगरी नजम्ने रसायन मिश्रित र होमोजेनाइज एवम् पास्चराइज गरेको दूध पचाउन ज्यादा बढी प्यान्क्रियाज र कलेजोमा बढी दबाव पर्न जान्छ र क्यान्सरलाई बल पुग्दछ।त्यसैले दूध र मासुबाट बच्‍न सकेमात्र पनि क्यान्सर, मधुमेह, हृदयरोग र मोटोपन लगायतका धेरै डरलाग्दा रोगहरूबाट बच्‍न पनि सहयोग पुग्‍नेमा अनुसन्धानकर्ताहरू सहमत छन्। यद्यपि धेरैलाई यो तथ्य पत्याउन त्यति सजिलो हुनेछैन।अन्तमा विष्णुपुराणलाई उद्धृत गरौँ ‘सा विद्या या विमुक्तये’अर्थात् विद्या त त्यसलाई मात्र भनिन्छ जसले ताप र कष्ट (रोग ) बाट मुक्ति दिन्छ। कि कसो ?