अस्ट्रेलियाका आधा दर्जन बढी कलेज खारेज - नेपाली विद्यार्थीहरु तनावमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अस्ट्रेलियाका आधा दर्जन बढी कलेज खारेज – नेपाली विद्यार्थीहरु तनावमा



अस्ट्रेलियाको  करिब आधादर्जन कलेजको दर्ता खारेज गरिदिएको छ । स्कील क्वालिटी अथोरिटी (एस्क्वा)ले त्यहाका धेरै नेपाली पढ्ने कलेज अस्ट्रेलिया इन्सिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबिटी) को अर्को शाखा कलेजसँगै

एआईबिटी सञ्चालन समूहकै अर्कों कलेज इन्टरनेशनल इन्सिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि तथा अन्य कलेजको दर्ता खारेज गर्ने निर्णय मंगलबार भएको हो । खारेजीसंगै त्यहाँ अध्ययनरत नेपालीलगायत सयौं विद्यार्थीको पठनपाठन अन्यौल भएको छ ।

कलेजले खारेजीविरूद्ध माथिल्लो निकाय एडमिनिस्ट्रेटिभ अपील ट्रिब्युन (एएटी) मा पुनरावेदन भने गर्न पाउँछ । तीन महिनाअघि खारेज भएको एआईबिटी कलेजको दर्तासम्बन्धी अझै ठोस निर्णय हुन सकेको छैन । कलेजले एएटीमा गरेको पुनरावेदन पटक–पटक अन्तरिम आदेश जारी गर्दै सरेपछि केही विद्यार्थी अझै अन्यौलमा छन् ।

तीन महिनाअघि एकै समूहको एआइबिटी कलेजको नर्सिंङ निकायको दर्ता खारेजी हुँदा १ हजारभन्दा बढी नेपाली विद्यार्थी समस्यामा परेका थिए । एआईबिटीका दुबै कलेज एकै व्यक्ति र संस्थाको स्वामित्वमा संञ्चालन भएको पाइएको छ । धेरै नेपाली विद्यार्थी पढ्ने कलेज पटक–पटक खारेजीमा पर्दा उनीहरुको शैक्षिक मानसिक र आर्थिक अवस्थामा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

सिड्नीमा रहेको अस्ट्रेलियन हार्बर इन्टरनेशनल कलेजको नर्सिङ निकायलाई पनि एस्क्वाले खण्डित खारेज गर्ने निर्णय गरेको छ। यो कलेजमा पनि उल्लेख्य नेपाली विद्यार्थी रहेको जनाइएको छ।

मंगलवार एस्क्वाले दर्ता खारेज गरेका अन्य कलेजमा अस्ट्रेलियन नेशनल कलेज, लाईफटाईम ईन्टरनेशनल ट्रेनिङ कलेज, मालभर्न इन्टरनेशनल कलेज, एनएसडब्लु बिजनेस कलेज, जराह इन्स्टिच्युट अफ एजुकेशन छन् । यस्तै टार्गेट ट्रेनिङ नामक संस्थाको दर्ता निलम्बन गर्ने निर्णय पनि एस्क्वाले गरेको छ । त्यहाँ विभिन्न खाले समस्या देखिएको र तोकिएको प्रावधान पूरा नगरेको पाइएपछि यस्तो निर्णय आएको हो । यी कलेजले पनि आफ्नो सफाई दिने मौका भने पाउनेछन् ।

अस्ट्रेलियामा ४० हजारभन्दा धेरै नेपाली विद्यार्थी अध्ययनरत छन् । तर, नेपाली विद्यार्थीको संख्या उल्लेख्य रहेका कलेज नै भटाभट मापदण्ड नपुगेको भन्दै बन्द हुन थालेपछि अन्यौल देखिएको हो। यो अवस्थामा नेपालबाट कलेज छान्दादेखि नै ध्यान दिनुपर्ने शैक्षिक परामर्शदाता बताउँछन् ।

बढी कमिसनको लोभमा शैक्षिक परामर्शदाताले कमजोर मापदण्डका कलेजमा विद्यार्थी पठाउन जोड दिने तथा विद्यार्थी पनि जसरी पनि अस्ट्रेलिया जाने सोचमा आफूले पढ्ने कलेजका बारेमा अध्ययन नगर्ने प्रवृत्तिले यस्ता घटना दोहोरिइरहेको जानकारहरू बताउँछन् ।

कमजोर मापदण्ड भएका कलेजमा पठनपाठन अनुमति दिई अध्यागमनले भिसा दिनु यहाँको सरकारी निकायको मुख्य कमजोरी रहेकाले शैक्षिक संस्था छनोट गर्दा परामर्शदाता, विद्यार्थी र अभिभावकसमेत चनाखो हुनुपर्ने सिड्नीको क्याम्ब्रिज एजुकेशन एन्ड भीसा सर्भिसेजका एकनारायण भुसालको बुझाइ छ।