अस्ट्रेलियामा एकै दिन कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

अस्ट्रेलियामा एकै दिन कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु



बीबीसी- अस्ट्रेलियामा त्यहाँको मेलबर्न सहरमा कोरोनाभाइरसको दोस्रो लहर फैलिरहँदा देशमा हालसम्मकै सबैभन्दा धेरै मानिसले भाइरसका कारण ज्यान गुमाएका छन्।

मेलबर्न राजधानी भएको भिक्टोरिया राज्यमा सोमवार १९ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ।

अस्ट्रेलियामा हालसम्म भएको ३१४ वटा मृत्यु र २१,४०० सङ्क्रमणको घटनामध्ये दुई तिहाइ भिक्टोरियामा भएको छ।

तर दैनिक सङ्क्रमितहरूको सङ्ख्या सयौँमा भएपनि हालैका दिनमा घट्दो क्रममा देखिएको छ। यसबाट त्यहाँ लागु ‘लकडाउन’ को व्यवस्था प्रभावकारी भएको हुनसक्ने आशा जगाएको छ।

मेलबर्नमा झण्डै एकमहिना अघि दोस्रो ‘लकडाउन’ गरिएको थियो भने अगस्ट ३ तारिखदेखि त्यहाँ रात्रीकालिन कर्फ्यू र कडा नियमहरू लागु गरिएको छ।

घरबाट बाहिर निस्केर काममा जानेहरूले त्यसका लागि दिइएको अनुमतिपत्र बोक्नुपर्छ र अत्यावश्यक बाहकेका सबै पसल, व्यवसाय र कार्यालयहरू बन्द छन्।

सार्वजनिक स्थानमा नाकमुख ढाक्ने मास्क लगाउनु पनि अनिवार्य छ।

छिमेकको न्यू साउथ वेल्स राज्यको सिड्नी शहरमा निश्चित क्षेत्रहरूमा कोरोनाभाइरस सङ्क्रमण समूहगत रूपमा देखा परेको छ।

त्यहाँको सरकारले युवाहरूलाई तिनका सामाजिक क्रियाकलाप सीमित तुल्याउन आह्वान गरेको छ।

क्वीन्सल्याण्डले न्यू साउथ वेल्स र भिक्टोरियासँगको आफ्नो सीमा बन्द गरेको छ। त्यहाँ महामारीलाई रोक्न सकिएको सोमवार बताइएको छ। दुइ हप्ताअघि यात्रुहरूले त्यहाँ मेलबर्नबाट भाइरस भित्र्याएका थिए।

भाइरसविरुद्ध अस्ट्रेलियाको प्रारम्भिक सफलता के भयो?
भाइरसको प्रभावलाई न्यूनीकरण गर्ने कुरामा अन्य देशहरूको दाँजोमा अस्ट्रेलियाको अवस्था अझै पनि राम्रो नै छ।

महामारीको आरम्भमा नै अपनाइएको नियन्त्रणका प्रभावकारी उपायहरूलाई यसका लागि जस दिने गरिन्छ।

तर जुन महिनायता धेरै जसो अस्ट्रेलियालीहरू पहिलो चरणको ‘लकडाउन’ बाट बाहिरिँदा मेलबर्न शहरमा सङ्क्रमणको अवस्था चर्किन पुगेको छ।

त्यहाँ सङ्क्रमणको स्थिति महामारी सुरु भएयता अष्ट्रेलिया भरिको कुल सङ्क्रमणको ७० प्रतिशत रहेको छ।

विदेशबाट भित्रिएकाहरूले होटेलमा क्वारन्टीनमा बस्दा अपनाउनु पर्ने सावधानीका नियमहरू पालना नगरेका कारण नयाँ चरणको महामारी देखिएको हुनसक्ने अनुमान गरिएको छ।

हालैका समयमा त्यहाँ स्वास्थ्यकर्मीहरूको बढ्दो सङ्ख्यामा सङ्क्रमण देखिएको अवस्थाप्रति स्वास्थ्य समूहरूले चिन्ता व्यक्त गरेका छन्।

अहिले स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका विभिन्न सातसयवटा घटनाहरू छन्।

स्वास्थ्यकर्मीहरूमाझ गरिएको एक सर्वेक्षणले अस्पतालहरूमा २० प्रतिशत चिकित्सकहरूले आफ्ना लागि भाइरसबाट सुरक्षित रहने लुगा र उपकरणहरू आफै किन्नु पर्ने अवस्था रहेको देखाएको छ।