व्यंग्य : कालो घोडाको नालको औँठी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

व्यंग्य : कालो घोडाको नालको औँठी



-लक्ष्मण गाम्नागे

आदरणीय दाजुभाइ, दिदीबहिनी, बुबाआमा, हजुरबाहजुरआमाहरु,
श्री स्वस्थानीमाताको यस पवित्र भूमिमा तपाईँहरूलाई स्वागत गर्दछौँ । यो तीर्थयात्रामा तपाईँहरू कसैलाई पनि कुनै प्रकारको परेशानी नहोस्, मनको इच्छा पूरा होस् भन्ने शुभकामना दिँदैछौँ । यस्तो पवित्र तीर्थमा पाल्नुभएको छ, एक छिन उभिएर हाम्रो गाडीको नजदिक आउनुहोस् र हाम्रो कुरा ध्यान दिएर सुन्नुहोस् । तपाईंंको जिन्दगीभरको लागि काम लाग्ने चिज हामीले लिई आएका छौँ । त्यो चिज हो ‘कालो घोडाको नालबाट बनेको औँठी’ ।

तपाईंहामी सबैलाई थाहा छ, आजको जमानामा सबै मानिसहरू कुनै न कुनै समस्याले पीडित छन् । धेरै नै झमेलाहरूमा जकडिएको छन् । सबैलाई परेशान छ । कसैलाई धनदौलत छैन, कसैलाई पढाई राम्रो छैन, कसैलाई रोजगारी छैन, कसैलाई परिवारमा झगडा छ । जताततै परेशान नै परेशान छ । कोही भोकमा परेको छ, कोही रोगमा डुबेको छ, कोही शोकमा फसेको छ । तपाईँलाई पनि पक्कै कुनै परेशानी छ । एकैछिन रोक्नुहोस् । यता देख्नुहोस् । तपाईंंका सम्पूर्ण परेशानी दूर गर्नको लागि हामीले ल्याएका छौँ, कालो घोडाको नालबाट बनेको चमत्कारी औँठी ।

दाजुभाइ दिदीबहिनीहरू, कालो घोडाको नालबाट बनेको यो औँठीको महङ्खव यति धेरै छ कि यसलाई धारण गरेपछि तपाईँ एकदमै छक् पर्नुहुनेछ । ध्यान दिनुहोस् । तपाईंंको व्यापार व्यवसाय बिग्रेको छ, जे काम गर्नुहुन्छ नोक्सान मात्र हुन्छ, गएको उधारो उठ्दैन, सरकारले बेलाबेला व्यापार व्यवसायमा जाँच गरेर दुःख दिन्छ, टैक्स अफिसले किचकिच गर्छ, पुलिसले करकर गर्छ, तपाईँ यो औँठी लगाउनुस्, सबै समस्या दूर हुन्छ । तपाईँले यसको प्रभाव भोलिबाटै थाहा पाउनुहुन्छ । अर्को हप्ताबाट तपाईंंले नाफै नाफा कमाउनुहुन्छ । यस्तो चमत्कारी औँठीको मूल्य कति होला ? हजार ? होइन । पाँचसय ? होइन । एक सय ? त्यो पनि होइन । स्वस्थानी माताको यस पवित्र मेलाको अवधिभरको लागि यसको मूल्य केवल बिस रुपैयाँ, बिस रुपैयाँ, बिस रुपैयाँ ।

नुरी नुरी
आजा रे आजा रे ओ मेरे दिलबर आजा
दिलकी प्यास बुझा जा रे…….

भक्तजनहरू ! हाम्रा युवा साथीहरू जो पढिलेखेर पनि बेरोजगार हुनुहुन्छ, काम पाउनुभएको छैन । गफ गरेर, तास खेलेर, क्यारेम खेलेर समय बर्बाद गर्नुभएको छ । कतै नोकरीका लागि जाँच दिनुहुन्छ तर फेल हुनुभएको छ । लेखेर पास हुनुहुन्छ तर इन्टरभ्यू खराब हुन्छ, यो कालो घोडाको नालको औँठी लगाएर नोकरीको खोजीमा निस्किनुहोस् अथवा इन्टरभ्यूमा सामेल हुनुहोस्, तपाईंंले ग्यारेन्टीका साथ जब पाउनुहुन्छ । यसको प्रभाव यस्तो छ कि तपाईंंलाई इन्टरभ्यू लिने हाकिम तपाईंंसँग लठ्ठिहाल्छ ।

तपाईँलाई पढाइमा दिल जाँदैन, अक्षरहरू नराम्रो छ । पढ्ने बेलामा मन अन्तअन्तै डुलिरहन्छ, जति पढे पनि दिलमा अडिँदैन, भुलिन्छ, जाँच लेख्ने बेलामा मुटु धडधड गर्छ, डर लाग्छ । तपाईंंको बच्चा तपाईँले भनेको टेर्दैन, गेम खेलेर बस्छ, फेसबुकमा झुण्डिरहन्छ, पढ्नमा ध्यान दिँदैन त यो औँठी लगाइदिनुहोस्, तपाईँको बच्चा पढाइमा फस्ट आउनुहुन्छ ।

तपाईँलाई काम गर्न मन लाग्दैन यसले जाँगर ल्याइदिन्छ । तपाईँलाई अल्छी लाग्छ, यसले जोस बढाइदिन्छ । तपाईंंको बिर्सने बानी छ, यसले सम्झाइदिन्छ । तपाईँलाई अथवा तपाईंंको परिवारमा कसैलाई कुनै प्रकारको मानसिक रोगले सताएको छ, डिप्रेसन छ, उदासी छ, छटपटी छ, यो औँठी लगाउनुहोस्, सब ठिक हुन्छ ।
तपाईंंले आफ्नो श्रीमान् वा श्रीमतीलाई खुसी राख्न सक्नुभएको छैन, सन्तुष्टि दिन सक्नुभएको छैन, श्रीमान् तपाईंंलाई नहेरेर बाहिर बाहिर जान्छ, कसैले उसलाई टुनामुना गरिदिएर बिगारेको छ, कुनै बिमारी लगाइदिएको छ, तपाईंंहरुको बिचमा मनमुटाब छ, झगडा छ भने यो औँठी लैजानुहोस् । आफ्नो जीवनसाथीलाई पनि लगाइदिनुहोस् आफू पनि लगाउनुहोस् । अनि देख्नुहोस् यसको चमत्कार ।

महिला दिदीबहिनीहरूको महिनावारीमा गडबडी छ, तपाईंंमा यौन दुर्वलता छ, कुनै रोगहरू लागेको छ, प्रेममा असफल भएको छ त यसमा पनि यही एउटा औँठीले काम गर्छ । तपाईंंको शत्रुको ग्रहले तपाईँमाथि राज गरेको छ, तपाईँमाथि शनिको प्रकोप छ, तपाईँको छिमेकीले तपाईँको भन्दा राम्रो घर बनाएको छ, राम्रो गाडी किनेको छ, तपाईँलाई रातिमा निन्द्रा लाग्दैन, तपाईँलाई विदेश जान मन छ तर काम बनिरहेको छैन । बस् यो कालो घोडाको नालबाट बनेको औँठी लगाउनुस् र हेर्नुस् कसरी तपाईँको एक एक मनको इच्छा पूरा हुन्छ । त्यसैले आफ्नो लागि, आफ्नो श्रीमतीको लागि, श्रीमान्को लागि र छोराछोरीको लागि पनि यो औँठी लिएरै जानुहोस् । यस्तो चमत्कारी औँठीको मूल्य मात्र बिस रुपैयाँ, बिस रुपैयाँ, बिस रुपैयाँ ।

क्या हुवा तेरा वादा वो कसम वो इरादा
भुलेगा दिल जिस दिन तुने
वो दिन जिन्दगीका………………………

हाम्रो युवाहरूलाई हामी सोध्न चाहन्छौँ, तपाईँ चुरोट खाएर कति पैसा सक्नुहुन्छ ? गुट्खा र खैनी खाएर कति पैसा खत्तम गर्नुहुन्छ ? त जम्मा बिस रुपैयाँ खर्च गरेर यस्तो बहुमूल्य औँठी किन्नमा किन दाँतबाट पसिना निकाल्नुहुन्छ ? तपाईँ आफ्नो भाग्य देखाउन ज्योतिषीलाई कति पैसा चढाउनुहुन्छ । हरेक दिन पत्रिका किनेर राशिफल पढ्नुहुन्छ । तपाईँ ग्रहदशा हटाउनको लागि पत्थरको पूजा गर्नुहुन्छ, भैँसीको पूजा गर्नुहुन्छ, माताको बाबाको खुट्टा पर्नुहुन्छ, पशुको बली दिनुहुन्छ, धामी झाँक्रीको उफार्नुहुन्छ । यस्तो नराम्रो अन्धविश्वासहरुमा परेर धेरै दुःख पाउनुहुन्छ, पैसा नास्नुुहुन्छ । त्यो सबको कुनै जरुरी छैन । यो एउटा औँठी लगाएर हेर्नुस्, तपाईँको जीवनमा ठुलो परिवर्तन आउनेछ । तपाईँलाई नसोचेको फाइदा हुनेछ । त्यसैले आजै लिइहाल्नुहोस्, कालो घोडाको नालको औँठी । मूल्य मात्र बिस रुपैयाँ, बिस रुपैयाँ, बिस रुपैयाँ ।

कालो घोडाको नालको औँठी कसलाई काम लाग्दैन ? बुढादेखि बच्चासम्म, लोग्नेमान्छे, आइमाई, युवा युवती सबैलाई काम लाग्छ । तपाईंंको बच्चालाई रातिमा नराम्रो सपना देखेर डराउँछ, कराउँछ, खाना खान मान्दैन, रातिमा ओछ्यानमा पिसाब गरिदिन्छ र तपाईँलाई परेशान भएको छ भने बच्चाको घाँटीमा कालो घोडाको नालको औँठी हालिदिनुस् तुरुन्तै समस्याको समाधान हुन्छ । युवा युवतीहरू जोलाई मनमा अनेक कुराहरू खेल्छ, आफ्नो लेखाइ, पढाइ वा काममा भन्दा केटा वा केटीतिर धेरै मन जान्छ, घरमा बस्न मन लाग्दैन, बाबुआमासँग रिस उठ्छ त यही एउटा औँठीले काम तमाम गर्छ । बूढाबूढीहरू रातिमा धेरै खोक्छन्, स्वाँस्वाँ गर्छन्, बरबराउँछन्, हाड दुख्छ, ढाड दुख्छ, धेरै किचाकिच गर्छन् भने यो औँठी लगाइदिनुस्, तपाईँलाई पूरा आराम मिल्नेछ ।

आजको ठुलो समस्या परिवारमा देखिन्छ । धेरै युवायुवतीहरू अचेल विदेशमा काम गर्न जान्छन् । बिहे गरेर घरमा राम्री श्रीमती छोड्नुभएको छ वा श्रीमान् छोडेर विदेशमा काम गर्न जानुभएको छ । मनमा कस्तो कस्तो कुराहरू आउनसक्छ । कहिलेकाहीँ मन यताउता घुम्नसक्छ, आफ्नो जीवनसाथीमाथि नै शङ्का लाग्न सक्छ । त्यस्तो बेलामा यही औँठीले तपाईँलाई र तपाईँको परिवारलाई पनि कन्ट्रोल गर्छ । मनलाई भडक्न दिँदैन । तपाईँ आफ्नू सासूबाट पीडित हुनुहुन्छ अथवा बुहारीले तपाईँलाई हेलाँ गरेको छ, त्यस्तो बेलामा यो औँठी लगाउनुस्, तपाईँको जीत पक्का हुन्छ । भन्नुहोला दुवैले लगायो भने कसले जित्छ ? दुवैले लगाउनुभयो भने दुवैको जीत हुन्छ, घरमा सुखशान्ति प्राप्त हुन्छ ।

सिर्फ बिस रुपैयाँको खर्चमा तपाईँको जिन्दगीको सबै समस्या दूर गर्नका लागि हामी आएका छौँ । आउनुस् हाम्रो गाडीको सामुन्ने । तपाईँलाई विश्वास लाग्दैन भने हेर्नुहोस् हामीले पनि यही औँठी धारण गरेपछि हाम्रो व्यापार कति राम्रो भएको छ । तपाईँले देखिरहनुभएको छ हामीसँग लाखौँ यस्ता औँठीहरू छन् । यो हप्तामा मात्रै हामीले पचासहजार भन्दा ज्यादा औँठी बेचिसकेको छौँ । यो तपाईँको लागि बहुत ठुलो मौका हो । हामी पछि पछि कहाँकहाँ पुग्छौँ । नेपालको भारतको ठाउँठाउँका जनताको सेवामा हामीले दूर दूर जानुपर्छ । त्यसैले मौकाको फाइदा उठाइहाल्नुस्, आजै यो औँठी लगाएर आफ्नो भाग्य बदलिहाल्नुस् ।

कुरा यो पनि छ कि कालो घोडा पाउन बहुत मुस्किल छ । अब यस्तो औँठी बनाउन पनि मुस्किल हुँदैछ । अर्को वर्ष यसको भाउ बढेर धेरै हुनेवाला छ । त्यसैले आजै खरिद गरिहाल्नुस् । यस्तो अमूल्य औँठी तपाईंंको लागि मात्र बिस रुपैयाँ, बिस रुपैयाँ, बिस रुपैयाँ ।

पापा कहते हैँ बडा नाम गरेका
बेटा हमारा ऐसा काम करेगा…….

करमचारी सरहरू मिसहरूलाई पनि यो औँठीको धारणले धेरै लाभ दिन्छ । लामो समयदेखि बढुवा भएको छैन, बढुवा हुन्छ । तपाईँलाई हाकिमले हेला गरेको छ, काममा धेरै पेलाएको छ, मन नपर्ने अफिसमा जबरजस्ती पठाएको छ, तपाईँलाई हाकिमसँग डर लाग्छ, मनको कुरा भन्न हिचकिच हुन्छ भने यो औँठी लगाउनुस् । यसको शक्तिले तपाईँले सबै सोचेको कुरा हुन्छ । तपाईँले गरेको गोप्य कामहरू राम्रो होस वा नराम्रो यसले तपाईँलाई बचाउँछ । घुस खानु नराम्रो कुरा हो, तर तपाईँले बाध्य भएर थोरबहुत कुनै रिस्वत उस्वत लिइहाल्नुभएको छ र यो औँठी धारण गर्नुभएको छ भने त्यो भित्रभित्रै बसिरहन्छ । बाहिर आउँदैन ।

हाम्रो नेपालको सरकारले यो भनेको छ कि, समृद्ध नेपाल सुखी नेपाली । वास्तवमा हामी सरकारलाई पनि सघाउन आएका छौँ । सरकारको मन्त्रीहरूले, प्रधानमन्त्रीले, करमचारीले यो औँठी लगाउनुहोस् र काम गर्न थाल्नुहोस् सबै सोचेको अनुसार काम फटाफट हुन्छ, देशमा नसोचेको अनुसार विकास झटाझट हुन्छ । हाम्रो प्रधानमन्त्रीजी धेरै ऋषिमुनिहरुको कुरा गर्नुहुन्छ, यो औँठी हाम्रा ऋषिमुनिहरुको हजारौँ वर्षको तपस्या र अनुसन्धानबाट हामीलाई दिनुभएको हो । यसको धारणले समृद्धि पनि आउँछ, सुख पनि आउँछ । पछिपछिको चुनावहरूमा पनि जित गर्नमा यसले ग्यारेन्टी गर्छ । सरकारले पनि हामीलाई यस्तो राम्रो कामको लागि हौसला दिनुपर्छ ।

यो सक्कली कालो घोडाको नालको औँठी त्यति सजिलै बनेको छैन । तपाईँले सोध्न सक्नुहुन्छ कि यस्तो दुर्लभ चिजको मूल्य किन यति थोरै राखेको ? हो, यस औँठीको फाइदा हेर्ने हो भने हजारौँ रुपैयाँ पनि राख्न सकिन्छ तर स्वस्थानी माताको यस पवित्र भूमिमा आएर नेपालको लागि, सोझासाझा नेपाली दाजुभाइ दिदीबहिनीको लागि हामीले सेवा गर्न पाएका छौँ, यही नै हाम्रो लागि ठुलो धर्म छ । तपाईँले सधैँ सम्झनुहुनेछ कि कसैले हामीलाई मात्र बिस रुपैयाँमा यति ठुलो उपहार दिएर गएको छ । त्यसैले श्रद्धालु भक्तजनको सेवामा हालको लागि यो चमत्कारी औँठीको मूल्य राखेका छौँ मात्र बिस रुपैयाँ, बिस रुपैयाँ, बिस रुपैयाँ ।

ओ साथी रे, तेरे बिनाभि क्या जिना
ओ साथी रे……………….।