आज अत्यधिक वर्षा हुने, सतर्कता अपनाउन अनुरोध - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

आज अत्यधिक वर्षा हुने, सतर्कता अपनाउन अनुरोध



शुक्रबार पनि देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘भारीदेखि धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ।

त्यसो त अहिले बिहान पनि सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हाल गण्डकी र लुम्बनी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो।

महाशाखाका अनुसार दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन्।

‘त्यसो त काठमाडौं उपत्यकामा भारी वर्षा भइसकेको छ’, उनले भनिन्, ‘६ घण्टाकै अवधिमा ललितपुरको खुमलटारमा ६६.६ मिलिमिटर वर्षा भइसकेको छ। अहिले पनि पानी पर्ने क्रम जारी छ।’

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।