अस्मिताको बयान सकियो, रविको सोमबार मात्रै - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

अस्मिताको बयान सकियो, रविको सोमबार मात्रै



काठमाडौँ: आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा चलाइएका रवि लामिछानेसहित तीन जनाको थुनछेक बहस चितवनका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा हुने भएको छ। बहस अघि उक्त इजलासमा आइतबार प्रतिवादी अस्मिता कार्कीको बयान सकिएको छ।

सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान हुने छ। बयान सकिएपछि सोमबार नै बहस हुने छ। सम्भवत सोमबार थुनछेकको आदेश आउने छ। रविसहित तीनै जनालाई चितवन जिल्ला प्रहरीको हिरासतमा लगिएको छ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले आजै मात्र जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो जसमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ।

थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।

प्रहरीले हिरासतमा लिएको ११ औँ दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। रविलाई फसाउन खोजिएको भन्दै देशब्यापी आन्दोलन बढ्दो छ। सामान्यतया: प्रहरीले हिरासतमा लिएको २५ दिनभित्र सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गर्नुपर्ने व्यवस्था छ। तर दबाबबीच प्रहरीले चाँडै अनुसन्धान सकेर मिसिल अगाडि बढाएको हो।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। सालिकरामले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा लामिछाने, कँडेल  र कार्कीका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।