अस्मिता कार्कीको बयान: लामिछाने र कंडेलसँग मिलेर बलात्कार केसमा फसाइदिने धम्की दिएको हो - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

अस्मिता कार्कीको बयान: लामिछाने र कंडेलसँग मिलेर बलात्कार केसमा फसाइदिने धम्की दिएको हो



काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु पश्चात फेला परेको भिडियोमा उनले आफ्ना पुराना सहकर्मीहरू रवि लामिछाने र युवराज कंडेललाई आफुलाई आत्महत्या गर्न बाध्य परेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ।

लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र रूकु भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दायर गरेको हो।

अभियोगपत्रमा पुडासैनीले आत्महत्या अघि खिचेको भिडियो, अस्मिता कार्की रूकुको बयान, लामिछाने र कँडेलको बयान र पुडासैनिकसँग नजिक केही ब्यक्तिको बयानलाई मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएकोछ।

आतमहत्यापछि पुडासैनीको मोबाइलमा उनले खिचेको भिडियो भेटिएको थियो। जसमा यूवराज कंडेलले अष्ट्रेलिया जान केटी मिलाइदिने भनेर कार्कीलाई आफूसँग जोडिदिएको बताएका छन्। कंडेलले हेप्न थालेपछि न्यूज २४ टिभी छोडेको त्यसपछि पनि उनले आफूलाई ‘तँ फसिस्, भन्दै धमक्याएको पुडासैनीले भनेका छन्। अदालतमा दायर भएको अभियोगपत्रमा यो भिडियोलाई महत्वपूर्ण प्रमाण मान्दै त्यसमा पुडासैनीले भनेका सबै कुरालाई समेटिएको छ।

यो प्रमाणलाई अस्मिताको बयानले पुष्टी गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन्। उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन्।

‘प्रतिवादीले न्युज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिचि मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सो फोटो मिसिल संलग्न रहेको देखिन्छ’ अभियोगपत्रमा उल्लेख छ।

कार्कीले प्रहरीसँगको बयानमा विवाहित पुडासैनीले आफूलाई अविवाहित भन्दै धोका दिएको बताएकी छन्। आफूलाई धोकामा राखेको थाहा भएपछि सम्बन्ध बिग्रिएको, र पनि पुडासैनिले पिछा नछोडेको पनि बयानमा भनेकी छन्।

त्यसपछि पुडासैनीको पिछा छोडाइदिन क्यामेरामेन अनिल ढुंगेलमार्फत लामिछाने र कंडेललाई अनुरोध गरेको बयान दिएकी छन्। पुडासैनीसँगका मेसेज र अन्तरंग फोटोहरू ढुंगेललाई पठाइदिएको उनको बयानमा उल्लेख छ।

यो कुरा ढुंगेलले पनि प्रहरीसँगको बयानमा स्वीकार गरेका छन्।

कार्कीले पठाएका ती मेसेज आफूले कँडेलसमेतलाई दिएको भन्दै ढुंगेलले प्रहरीमा कागज गरेको अभियोगपत्रमा उल्लेख छ।

कंडेलले भने यी सबै कुरा इन्कार गर्दै बयान गरेका छन्। तर कार्की, ढुंगेल र लामिछानेको बयानले उनको इन्कारी बयानलाई नै खण्डित गर्ने सरकारी वकिलको दाबी छ।

समाचार बनाउने क्रममा कंडेलले पुडासैनीलाई गाली गर्ने कुरा लामिछानेको बयानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ। कंडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनिलाई धम्क्याएको दाबी अभियोगपत्रमा गरिएको छ।

अभियोगपत्रका अनुसार, अरूले नै आफूले कार्यक्रम बनाएको भनिदिएको हुनसक्ने आशंका भने उनले बयानमा गरेका छन्। ‘प्रतिवादी रवि लामिछानेले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन दिएको तथा सो अनुसारको परिस्थिति खडा गरेकोमा इन्कार भइ बयान गरेको भएतापनि आफूले निजको विरूद्धमा कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनसक्छ र आत्महत्या गरेको हुन सक्छ भनी बयानमा खुलाएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ।