२०७५ भदौ ४, सोमवार

कथा -एउटा असफल प्रेम

March 21, 2018
392 Views
Spread the love
  • 241
    Shares

-कृष्ण आचार्य

मंसिर महिना । बिहेको साइत जुराएर केटी हेर्ने चटारो थियो । मेरो होइन साथी प्रितमको । म उसको घर चितवन गएको थिएँ । सानैबाट बुबाआमुदेखि टाढा भएकाले पनि उसको परिवारसँग मेरो आत्मियता निकै गहिरो थियो । त्यसैले पनि म काठमाडौँदेखि समय मिलाएर बेलाबेला प्रितमसँगै उसको घर गइरहन्थे । उहाँहरुले हामीलाई अत्यन्तै जरुरी काम छ भनि बोलाउनुभएको थियो । त्यहाँ गएपछि मात्र थाहा भयो, जरुरी काम अरु केही नभइ प्रितमको बिहेको विषयमा पो रहेछ !

मेरो मामुबाबा म सानै छँदादेखि अमेरिका बस्ने भएकाले म काठमाडौँमा मामामाइजुसँग बस्थेँ । उहाँहरुले मलाई पनि अमेरिका लान नचाहेको होइन तर, मलाई आफ्नो देश छाडेर जाने मन लागेन । उहाँहरुलाई पनि यतै आउन आग्रह गर्थे । तर, म पहिलो श्रीमतीबाटको छोरा भएकाले होला बाबाले माया गरे तापनि मामुले खासै चासो दिनुभएन । मैले सानैदेखी काठमाडौँ पढेँ । प्रितम भने प्लस टु देखि काठमाडौँ आएको हो र हामीले मास्टर्ससम्म सँगै पढ्यौँ । मास्टर्सपछि दुवैजना एउटै कम्पनीमा काम गर्थ्यौँ । म पनि प्रितमसँगै उसकै कोठामा बस्न थालेको थिएँ । त्यसैले पनि होला हाम्रो आत्मियता साथीत्वको मात्र नभएर अझ गहिरो थियो । एकअर्काको सुख, दुःखको सहारा बनेका थियौँ हामी ।

प्रितम घरको एक्लो छोरा भएकाले उसलाई सबैले निकै माया गर्नुहुन्थ्यो । हजुरबुबा, हजुरआमा, अंकल अनि बुबाआमा । निकै सुखी परिवार थियो उसको । प्रितमको बुबा रिटायर्ड आर्मी हुनुहुन्थ्यो । आमा गृहणी । अंकल सरकारी अधिकृत । सबै पढे लेखेका भए तापनि धार्मिक आस्था र विश्वासका हिसावले निकै कट्टरता थियो उसको परिवारमा । हामीलाई जहिले पनि बिहेको कुरामा आफ्नै जातको केटी खोज्नुपर्छ है फेरि लभको चक्करमा परौला नि भन्दै उहाँहरु सम्झाउने गर्नुहुन्थ्यो । उसको बुबाको अगाडि हामी केही बोल्न सक्दैनथ्यौँ । टाउको मात्र हल्ल्लाउथ्यौँ ।

त्यसैले पनि होला त्यस दिन पनि प्रितमको बिहेका लागि उसको परिवारले उसकै जातको बाहुनी केटी खोजिरहँदा ऊ भने आफ्नो प्रेमबारे मौन थियो । राति सुत्ने बेला उसले भन्यो, ‘के गर्ने होला यार उता अन्जुसँग बिहेको बाँचा गरेको छु यता केही दिनमै बिहे गरिदिने तयारी गर्दैछन् ।’ उसले यसो भनिरहँदा मैले सान्तवना दिँदै उसलाई नआतिन र सबै ठिक हुने बताएँ ।

मंसिर १३ गते उसकै बाबुको साथीको छोरीसँग नवलपरासीको कालिका मन्दिरमा उसको बिहे छिनियो !
त्यो रात (मंसिर १० गते) उसले अन्जुसँग निकैबेर फोनमा कुरा गर्यो । प्रितमलाई उसको बुबाले तैले कोही केटी हेरेको छस् भने भन् है नभन्नुभएको त होइन तर, उसले भन्न सकेन । अन्जु तल्लो जातको केटी जो थिई ।
उसले अन्जुलाई पनि सबै कुरा सुनायो । अन्जु निकै रोई । नरोओस् पनि कसरी प्रितम ब्याचलर पढ्दै गर्दा १० कक्षामा पढ्ने उसकै कोठा छेउँकी अन्जुसँग मायाप्रेम जोडिएको ५ वर्ष भइसकेको थियो । त्यसबीचमा उनीहरुले निकै मिठा यादहरु एकअर्काका लागि छाडिसकेका थिए । दुवै मानसिक, शारीरिक र भौतिक रुपले एकअर्काका भइसकेका थिए । अब मात्र सामाजिक मान्यतालाई निरन्तरता दिन बिहेको खाँचो थियो । हाल अन्जु पनि ब्याचलन पढ्ने भइसकेकी थिई ।

अर्को दिन ११ गते बिहान प्रितमले आँट गरेर परिवारलाई सबै कुरा भन्ने निधोँ गर्यो । खाना खाएर पत्रिका पढिरहेका बाबुको छेउँमा गएर डराउँदै बुबा–बुबा भन्न थाल्यो । भूपु आर्मी भएकाले पनि होला उसको बुबाले ठूलो र कडा स्वरमा बोल्दा शरीर नै काँप्थ्यो । डराउँदै प्रितमले ठूलो आँट गरेर मनका सबै बहहरु बुबासामू पोखिदियो ।

एकछिनमै उसको बुबाले सबैलाई जम्मा गरेर प्रितमले भनेका कुरा सुनाउँदै भन्न थाल्नुभयो, ‘नाकै काट्यो नि, यतिका पैंसा खर्च गरेर यसलाई पढाएको यही दिन देख्न हो । यो घरमा कि यो बस्छ कि म…’ अरु सबै चुपचाप रहे । सायद त्यहाँ बोल्ने आँट कसैले गरेन ।

राति उ अन्जुलाई सबै कुरा सुनाउँदै थियो । दुवै जना खुब रुदै थिए । उसले आफू काठमाडौँ आउने र अन्जुुसँग बिहे गर्ने भनेपछि अन्जु अलि शान्त भइ र दुवै मिलेर योजना बुन्न थाले ।

मैले उसँग बिहे हुन लागेकी केटीको नम्बर पत्ता लगाएको थिएँ । उसलाई फोन गरेर सबै कुरा भनिदिए र सहयोग गर्न आग्रह गरेँ । उसले पनि उनीहरुको प्रेम सफल पार्न आफूले सक्दो सहयोग गर्ने बाचा गरी ।
अर्को दिन १२ गते साँझ प्रितम काठमाडौँ जाने र १३ गते बिहान पशुपतिको गुहेश्वरीमा बिहे गर्ने सल्लाह भयो । काठमाडौँमा भएका साथीलाई बिहेको सबै सरसामान किन्न लगाइयो । म भने काठमाडौँ नजाने भएँ । यता बिहेको सबै तयारी सकिएको थियो । साथीले बिहे नगर्ने भएपछि दुवै परिवारको इज्जतका लागि आइपरेमा मेले नै बिहे गर्नुपर्छ भन्ने प्रितमको चाहना थियो । म उसको परिवारको इज्जतका लागि उसले भनेको मान्न राजी थिएँ ।
साथी योजनाअनुसार १२ गते साँझ सबै सुतेपछि नारायणगढको पोखरा बसपार्क हुँदै काठमाडौँ हानियो । मैले अन्तिम बिदाइका हात हल्लाउँदै उसलाई बिहेको शुभकामना दिएँ । उसले आफ्नो परिवारलाई सम्हालिदिन आग्रह गर्यो र मैले उसलाई आश्वासन दिएँ । मैले काठमाडौँका साथीलाई फोन गरी सबै तयारी पुरा भए नभएको सोँधे । त्यहाँ बिहेको सबै तयारी पुरा भएको उनीहरुले बताए । अन्जुलाई दिउँसो नै फोन गरेर प्रितम साँझ काठमाडौँ आउनेबारे जानकारी दिइसकेका थियौँ । त्यसैले साझ फोन गरेनौँ ।
अन्जु बिहेको सपना सजाउँदै बसेकी होली…

बिहान भइसक्दासमेत साथीले फोन गरेन । मैले गर्दा अफको सिग्नल आयो । अन्जुलाई फोन गरेको उसको भाइले उठाएर दीदी नुहाउन गएको सुनायो ।

घरमा प्रितमको खोजि सुरु भयो । उ नभेटिएपछि हल्लाखल्ला हुनु स्वभाविक थियो । मैले उसले लेखेको चिठ्ठी दिएँ । चिठ्ठी पढेपछि एकछिन त घरमा सन्नाटा नै छायो । मैसँग प्रितमको बिहे छिनिएकी केटीको बिहे गरिदिने निधोँ गर्नुभयो । यसरी उहाँहरुको इज्जत बच्ने र पछि प्रितमलाई पनि सजिलो हुने भएकाले म पनि सबैको खुसीको लागि बिहे गर्न तयार भएँ । मलाई सबै मिलेर तयार गर्न थाले । प्रितमका लागि सिलाइएका लुगा मेरो शरीरमा टाइट भए । म ऊ भन्दा अलिक मोटो नै थिएँ ।

सबै तयारी पुरा गरेर हामी मन्दिरतिर लाग्यौँ । बिहेको पूर्व योजना अनुरुप उहाँहरु मलाई लिएर मन्दिर जानुभयो । मैले प्रितमलाई फोन हेर्ने फुर्सद समेत पाइनँ । मन्दिर जाँदा फोन लगिन । न त्यतातिर ध्यान नै गयो ।
बिहे गरेर दिउँसो ३ बजे घर आइपुग्यौँ । मैले आफ्नो बिहे हुँदा र बाटोभरी प्रितम र अन्जुलाई सम्झिएँ । उनीहरुको बिहेको कल्पना गरेँ र आफू त्यहाँ हुन नपाएको दुःख महसुस गरेँ । घर गएर फेसबुकमार्फत बिहेको फोटो हेर्न निकै हतारिएको थिएँ ।

कोठामा छिर्नासाथ मोबाइल समाएँ । अन्जु र काठमाडौँका साथीको ५०० भन्दा बढी फोन आएको रहेछ । अनि धेरै म्यासेज पनि । मैले हतारहतार अन्जुलाई फोन गरेँ । फोन अफ थियो । त्यसपछि प्रितमलाई गरेँ, उसको पनि अफ ।

त्यतिकैमा मेरो आँखा अन्जुको म्यासेजमा पर्यो । म म चकित भएँ । तत्का अन्य साथीहरुलाई फोन गरेँ । म्यासेज पढेर पसिना–पसिना भएको म साथीहरुको कुरा सुन्दा छानाबाट खसेजस्तो भएँ । मेरो होसै हरायो । म सपनामा छुँ या विपनामा पत्तै भएन ।

बिहान ८ बजे बिहेको साइत थियो । १० बजेसम्म प्रितमलाई कुरेकी अन्जुले आत्महत्या गरिछे !

प्रितमको १२ गते साझबाट फोन नलागेपछि उसले आफूलाई धोका दिएर परिवारले खोजिदिएको केटीसँग बिहे गर्न लागेको अनुमान गरेकी रहिछे । उसको म्यासेज र साथीहरुको कुराबाट मैले थाहाँ पाएँ ।तर, मलाई अचम्म लाग्यो । यहाँबाट अन्जुसँग बिहे गर्न हिँडेको प्रितम कहाँ गयो !

पछि बुझ्दै जाँदा थाहा भयो, ऊ चढेको बस धार्केमा दुर्घटना भएछ । प्रितमलाई चोट लागेछ । उसलाई प्रहरीको सहयोगमा अस्पतालमा भर्ना गरिएको रहेछ । बिहान ११ बजे होस आएपछि उसले नर्ससँग फोन मागेर अन्जुलाई फोन गरेछ । तर, फोन अफ भएपछि साथीलाई फोन गरेछ । पछि १२ बजे साथीसँगै उसको कोठामा जाँदा त्यहाँ त रुवावासी पो चलिरहेको रहेछ ।

हो अन्जुले यो संसार छाडेर गइछे ! वास्तवमा प्रितम धोकेबाज थिएन । तर, समय र परिस्थितिले उसलाई धोकेबाज बनाइदियो र अन्जुले यसलाई सहन गर्न सकिन । गरोस् पनि कसरी ? जसलाई तन, मन सबै सुम्पिएको छ उसले बिहेको आशा देखाएर धोका दिन्छ भने । तर, त्यो धोका थिएन । प्रितम त अन्जुका घरपरिवार छाडेर गएको थियो । ऊ कसरी धोकेबाज हुनसक्छ ? कमजोरी त हाम्रो समाजको थियो । यदि तल्लो र माथिल्लो जात भन्ने हुँदैनथ्यो भने आज उनीहरुको बिहे घरपरिवारकै सहमतिमा धुमधाम साथ हुने थियो । उनीहरुको प्रेम यसरी निरिह हुने थिएन ।

साथी मलाई फोनमा भन्दै थियो, हामी अन्जुको घरमा गयौँ । प्रितम यो सबै देखेर पागल जस्तै भयो । बिहेका लागि किनेका सामान सबै सँगै लगेर गएका थियौँ । प्रितम भित्र गयो र त्यो कपडा लगाएर आयो । अन्जुलाई पनि बाहिरबाटै ती कपडा लगाइदियो ।

त्यसपछि प्रितमले बट्टाबाट सिन्धुर झिक्यो र अन्जुको सिउँदो रंगाइदियो । अन्जु यो संसारमा नरहे तापनि उसले अन्जुको मृत शरीरसँग आफ्नो बाचा पुरा गर्यो । अनि सदा सदाका लागि आफ्नो प्रेमलाई अमर राख्यो ।

Facebook Comments
  • 241
    Shares

You may be interested

पत्रकार महासंघ भारत शाखाको विधान तयार
समाचार
0 shares9 views
समाचार
0 shares9 views

पत्रकार महासंघ भारत शाखाको विधान तयार

himal post - २०७५, ४ भाद्र १०:११

नयाँ दिल्ली। भारतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भारतले आइतबार आफ्नो विधानलाई अन्तिम प्रारुप दिएको छ ।…

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !
समाचार
0 shares9 views
समाचार
0 shares9 views

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !

himal post - २०७५, ४ भाद्र १०:०३

काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य…

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा
अन्तराष्ट्रिय
0 shares10 views
अन्तराष्ट्रिय
0 shares10 views

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

himal post - २०७५, ४ भाद्र ०८:३१

काबुल– अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन्। युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति असरफ घानीले विद्रोही शान्तिका लागि तयार भएमा कुनै…