लुम्बिनीका प्रभावशाली नेता अर्जुन कुर्मी दलबलसहित कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

लुम्बिनीका प्रभावशाली नेता अर्जुन कुर्मी दलबलसहित कांग्रेसमा प्रवेश



बुटवल- लुम्बिनीका प्रभावशाली अभियन्ता तथा युवा नेता अर्जुन कुर्मी दलबलसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक समारोहकाबीच कुर्मी लगायतका सयौँ युवा कांग्रेसमा प्रवेश गरेका हुन् ।

लुम्बिनीमा निकै चर्चित कुर्मी र उनको समूहलाई कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिका नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटभाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गराइएको थियो ।

विभिन्न सामाजिक कार्यमा संलग्न अभियन्ता कुर्मीलाई पार्टीका नेता तथा प्रतिनिधिसभा संसद्को सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले पार्टीमा स्वागत गरेका हुन् ।

लुम्बिनीमा आयोजित उक्त कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खान, पूर्वमन्त्री ज्योतेन्द्र मोहन चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान लगायत नेताले सम्बोधन गरेका थिए ।

कार्यक्रम कांग्रेस लुम्बिनी सांस्कृतिक नगर समितिका सभापति सैयद खानको अध्यक्षता तथा अशोक गोश्वामीको सञ्चालनमा भएको थियो ।

युवा नेता कुर्मीले आफू कांग्रेसमा प्रवेश गर्दा निकै खुसी भएको बताउँदै आगामी दिनमा पार्टी र संगठनलाई माथि लैजानेगरी कम गर्ने बताएका छन् ।

कुर्मीले आफूसहित १५० जना युवाहरू कांग्रेसमा प्रवेश गरेको बताए । उनले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

कुर्मी लामो समयदेखि सामाजिक कार्यमा संलग्न छन् । उनले चलाएका अभियानहरूले लुम्बिनीको पर्यावरण संरक्षण, पशुपंक्षी संरक्षण र पर्यटन प्रवर्दनमा टेवा पुर्याएका छन् ।