यसपटक पनि सांसद बन्ने आरजुको सपना चकनाचुर - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

यसपटक पनि सांसद बन्ने आरजुको सपना चकनाचुर



धनगढी- प्रधानमन्त्री पत्नी आरजु देउवा कैलाली-५ बाट सिफारिस भएपनि उनका लागि यसपटकको निर्वाचन फलामको चिउरा बन्ने देखिएको छ । अघिल्लो पटक पनि यसै क्षेत्रबाट लज्जास्पद हार बेहोरेकी उनलाई यसपटक पनि सांसद बन्न सहज छैन ।

आरजुकै कारणले अहिले पनि यो क्षेत्र चर्चामा छ तर नेपाली कांग्रेसकै नेताहरूले उनलाई हराउने आंकलन छ । नेपाली कांग्रेसका पूर्वसांसद पुष्करनाथ ओझाकै कारण आरजु अहिले चकमन्न परेकी छन् । प्रतिनिधिसभा चुनावमा कैलाली–५ बाट चुनाव लड्न चाहेकी आरजुको लागि पुष्करनाथ समस्या बन्ने देखिएका छन् ।

स्थानीय जानकारका अनुसार पुष्करनाथलाई नमिलाएको खण्डमा आरजुले चुनाव जित्न सक्दिनन्, तर पुष्करनाथ भने पग्लिने मनसायमा छैनन् । उसो त बालुवाटारले पटक पटक उनलाई विभिन्न अफर गरेर फकाउने प्रयास नगरेको पनि होइन । केही समयअघि पुष्करनाथसँग सम्वाद गर्न खोज्दा पनि उनले अडान नछाडेको बताइन्छ ।

उनका लागि बालुवाटारले विभिन्न विकल्पमा अफर समेत गरेको खुलेको छ । उनलाई कैलाली ४ बाट प्रतिनिधिसभा चुनाव लड्न, समानुपातिकतर्फ बस्न, प्रदेश सभामा जान वा केन्द्रीय सदस्य बन्न बेलाबेला अफर गइरहन्छ ।

सबै विकल्पमा बालुवाटार तयार भएपनि पुष्करनाथ कसैको कुरा सुन्न तयार छैनन् । कैलालीका कांग्रेस नेताले पछिल्लो स्थानीय निर्वाचनको हिसाब सुनाउँदा पुष्करनाथलाई नमिलाई चुनाव जित्न नसकिने प्रष्ट छ । जस्तोसुकै गठबन्धन गरेपनि कैलाली-५ मा चुनाव जित्न सहज नहुने हिसाबले देखाउँछ ।

तर आरजुले कैलाली ५ नछाड्ने, पुष्करनाथले समर्थन नगर्ने अवस्था भएकाले परिस्थितिले अर्कै मोड लिने देखिन्छ । पुष्करनाथले दलीय व्यवस्था हुनुपर्छ भनेर कांग्रेसमा लागेको र कांग्रेस आफ्नो घर भएकाले त्यहीबाट चुनाव लड्न चाहेको बताएका छन् ।

२०७४ कै निर्वाचनमा उनी दावेदार थिए, तर उनको साटो आरजुलाई टिकट दिएपछि परिस्थितिले फरक मोड लियो । आफूले टिकट नपाएपछि उनले सहयोग गरेनन्, आरजुको लज्जास्पद हार भयो । आरजुले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित हुनुपर्यो ।

पुष्करनाथले अहिले चुनावको तयारी गरिरहेका छन् । टिकट दिए पार्टीबाटै, नभए स्वतन्त्र भएपनि चुनाव लड्ने उनको तयारीले कांग्रेसकै नेताहरू बिलखबन्दमा परेका छन् ।