नेदरल्याण्ड्सले १३ गोल गर्दा अर्जेन्टिनाले जम्मा ६ गोल
काठमाडौं । विश्वकप फुटबलको क्वार्टरफाइनलमा आज शुक्रबार अर्जेन्टिना र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ ।
नकआउट चरणमा अर्जेन्टिनाले अष्ट्रेलियालाई र नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो । सन् १९७८ र १९८६ को विश्व विजेता अर्जेन्टिनालाई यो पटक पनि विश्वकपको उपाधि दाबेदार मानिएको छ । समूह चरणमा साउदी अरेवियासँग पराजित भएपनि पोल्याण्ड र मेक्सिकोसँग उसले राम्रो खेल्यो ।
अन्तिम १६ मा त अष्ट्रेलियालाई सजिलै हरायो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई सजिलै हराएर सेमिफाइनलमा पुग्छ भन्नेहरु पनि छन् । तर नेदरल्याण्ड्सले अप्रत्यासित नतिजा निकाल्न सक्ने आँकलन गर्नेहरु पनि छन् ।
हेड टु हेडको कुरा गर्ने हो भने नेदरल्याण्ड्स नै अघि छ । यी दुई देशबीच अहिलेसम्म नौ वटा खेल भएकोमा नेदरल्याण्ड्सले ४ वटा र अर्जेन्टिनाले ३ वटा खेल जितेका छन् । २ वटा खेल बराबरीमा सकिएका छन् । नेदरल्याण्ड्सले १३ गोल गर्दा अर्जेन्टिनाले ६ गोल गरेको छ ।
पछिल्लो समय यी दुई देशबीच २०१४ को विश्वकपमा भेट भएको थियो । नियमित र थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा अर्जेन्टिना ४-२ गोलले विजयी भएको थियो । यस्तै, सन् २००६ को विश्वकपमा समूह चरणमै खेलेका दुवै देशले गोलरहित बराबरी खेलेका थिए ।
१९९९ मा भएको विश्वकपमा नेदरल्याण्डस २- १ गोलले विजयी भएको थियो । यस्तै, सन् १९७८ को विश्वकपमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ३-१ गोलले हरायो । सन् १९७४ को विश्वकपमा भने नेदरल्याण्ड्सले अर्जेन्टिनालाई ४-१ गोलले हराएको थियो ।