मेस्सीका कारण अर्जेन्टिना हारेको होइन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मेस्सीका कारण अर्जेन्टिना हारेको होइन



अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाले विश्वकपमा आइसल्याण्डसँगको बराबरी अर्जेन्टिनी टिमका लागि लाज र अपमानको कुरा रहेको बताएका छन् ।

उनले प्रशिक्षक जर्ज साम्पाओलीलाई अब आउने खेलहरुमा अर्जेन्टिनालाई आइसल्याण्डसँग खेलेको जस्तो अवस्थामा नल्याउन पनि चेतावनी दिएका छन् ।

समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले पेनाल्टीमा चुकेको खेलमा अर्जेन्टिना नयाँ टोली आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।

अर्जेन्टिनाले अवसर पाएर पनि गोल गर्न नसकेको यो खेल राष्ट्रिय टिमबाट विश्वकप जितेका तथा टिमका पूर्व प्रशिक्षक म्याराडोनाले स्पार्टक रंगशालमै गएर हेरेका थिए ।

म्याराडोनाले भने, ‘मैले उनीहरुको मनमा आक्रोशको भावना रहेको महसुस गरेँ ।’ अर्जेन्टिनाले खेलमा सर्जियो अग्युरोको गोबलाट अग्रता लिएको थियो । तर केही मिनेटपछि अल्फ्रेड फिन्बोगासनले आइसल्याण्डका लागि बराबरी गोल फर्काए ।

‘यो निकै लाज र अपमानको कुरा हो । आइसल्याण्डका सबै खेलाडी १.९० मिटर अग्ला छन् भन्ने थाहा हुँदाहुँदै पनि त्यस अनुसार तयारी नगर्नु कमजारी बन्यो’ सन् १९८६ मा विश्वकप जितेका म्याराडोनाले भेनेजुएलाको टेलिभिजनसँग भनेका छन् ।

मेस्सीले त्यो खेलमा आफ्नो पुराना प्रतिस्पर्धी क्रिष्टियानो रोनाल्डो अघिल्लो दिन ह्याट्रिक गरेर कायम गरेको प्रभावजस्तै आफ्नो पनि प्रभाव कायम गर्न चाहन्थे ।

तर मेस्सीले ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् । मेस्सीले निकै संगठित देखिएको आइसल्याण्डको रक्षापंक्तिलाई तोड्न सकेनन् ।

म्याराडोनाले भने, ‘म खेलाडीलाई दोष लगाउँदिन । हो कामको स्तरमा केही कमजोरी भयो । तर खेलाडीलाई दोष दिने ठाउँ छैन । मेस्सीको कुरा गर्दा उनले आफूसँग भएको सबै त्यो खेलमा दिएका थिए ।’

उनले भने, ‘मैले पाँचपटक पेनाल्टीमा गोल गर्न सकेको थिइनँ स्पेनमा हुँदा तर पनि म अहिलेसम्म नै डिएगो म्याराडोना नै छु । मलाई लाग्दैन मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेकै कारण अर्जेन्टिनाले दुई अंक गुमायो भन्ने ।’

५७ वर्षका म्याराडोनाको प्रशिक्षणमा अर्जेन्टिना सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा आउँदो जुन २१ म क्रोएसियासँग खेल्नेछ ।