अर्घाखाँचीमा मामा भर्सेज भान्जा: कसले मार्ला वाजी ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अर्घाखाँचीमा मामा भर्सेज भान्जा: कसले मार्ला वाजी ?



काठमाडाैं /कात्तिक २५ ।

नयाँ शक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभाका लागि अर्घाखाँचीबाट छन्द पन्थीले उम्मेदवारी दिएका छन् । उनले वाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धा गर्दैछन् । यस अघि पनि दुई पटक सोही क्षेत्रबाट सभासद बनेका रायमाझीलाई पन्थी चुनौति बन्न सक्छन् । किनकि, उनीहरु दुई जना मामा-भाञ्जा हुन् । यतिबेला उनीहरु एक अर्कालाई भोट माग्नका लागि मतदाताको घरघरमा पुगिरहेका छन् । दुबै जना प्रतिनिधि सभाको सदस्य जित्ने दावी मात्रै गरिरहेका छैनन्, जिल्लाको विकास यसरी र उसरी गर्छु भनेर नाराहरु ओराल्न पनि थालेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-पन्थीले त आफ्नो विकासे प्रतिवद्धतासमेत सार्वजनिक गरेका छन् ।

उनको प्रतिवद्धता यस्तो छ :

आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो सादर नमस्कार
म हुँ छन्द पन्थी

अर्घाखाँचीबाट प्रतिनिधिसभा चुनावमा नयाँ शक्ति पार्टी, नेपालका तर्फबाट उम्मेदवार र मेरो चुनाव चिन्ह हो ‘आँखा’

म किन प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएँ ? अनि, जिल्लाका लागि मेरो जित किन आवश्यक छ ? यिनै दुई प्रश्नको जवाफ मेरो चुनावी प्रतिबद्धता पत्र हो । असीमित सपना, असम्भव काम र योजनाको फेहरिस्त मेरा मुद्दा होइनन् ।

राष्ट्रिय महत्वका ठूला मुद्दामा म धेरै केन्द्रित छैन । किनभने नयाँ शक्ति पार्टी, नेपालले देशका दिशा र दसा तय गर्ने चुनावी प्रतिबद्धता पत्र ल्याएको छ, जहाँ तपाईं हाम्रो भविष्यको रूपरेखा छ । विचार र राजनीति, आर्थिक विकास र समृद्धि, समृद्ध लोकतन्त्र र सुशासन तथा पार्टीको अपिल नयाँ शक्ति पार्टी, नेपालको प्रतिबद्धता पत्रमै छ । ‘अबको निकास, आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ हाम्रो केन्द्रीय प्रतिबद्धता र सपना हो, जसमा भविष्यको नेपालको चित्र छ । पार्टी केन्द्रका प्रतिबद्धतासँगै अर्घाखाँची जिल्लाको समग्र विकास, पारदर्शी र जवाफदेही राजनीतिक संस्कार र राजनीतिमा युवाको सहभागिता मेरो प्रतिबद्धता पत्रका विषय हुन् ।

लोकतन्त्रमा चुनाव यस्ता अगुवाहरूको चयन गर्ने विधि हो, जो माथि आफ्नो भविष्य जोडिन्छ र उनीहरूमा आफ्नो भविष्य देखेर नै चयन गर्ने हो । चुनावमा भोट हाल्ने मात्र होइन, यो त आफ्ना सपना अरूको जिम्मा लगाउने निकै महत्वपूर्ण घडी हो । सपना पूरा हुने वा सपनाको हत्या गराउने यो तपाईं हाम्रो हातमा छ । तपाईंका सपनाको हत्या गर्ने राजनीतिक सोच र अहिलेसम्मको अपसंस्कृतिको विकल्पमा मेरो उम्मेदवारी हो ।

हो, तपाईं हामीले धेरै पटक भोट खसाल्यौँ । तर दुर्भाग्य, तपाईं हाम्रा सपना कहिल्यै पूरा भएनन् । तपाईं हामीले सपना पूरा गर्ने जिम्मा जसलाई दियौँ । उनीहरूले कति पूरा गरे, एक पटक छातीमा हात राखेर सोच्यौँ भने महसुस गर्न सक्छौँ । सम्झँदा पनि करेन्ट लागेजस्तो झ्टका महसुस हुन्छ । तथ्यले के देखाउँछ भने अहिलेसम्म हाम्रा सपनाको हत्या भएको छ र हामीले प्रश्नसमेत गर्न सकेका छैनौँ । तर समय घर्किसकेको छ । अब जागौं, प्रश्न गरौं र विकल्प खोजौँ ।

आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू

म तपाईंहरू समक्ष यसकारण सपनाको कुरा गरिरहेको छु कि फेरि सपना किनबेचको मौसम तपाईंको घरआँगनमा आएको छ । लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक–समावेशिता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माणपछि हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावमा तपाईंका सपना पूरा गर्ने दाबीसहित तपाईंकै घरदैलोमा ‘ठेकदार’हरू आउँदैछन् । यसपटक पनि तपाईंसँग भविष्यका सपना छन् । तर, उचित विकल्प छान्नु भएन भने आत्मघात हुनेछ । फेरि पाँच वर्षसम्म अर्को चुनाव पर्खेर बस्नुपर्नेछ, त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ । तपाईं हाम्रा सपनालाई साकार बनाउन यसपालि ठण्डा दिमागले सोचौँ । यसैले हामीले नारा दिएका छौँ, ‘पुराना शक्तिलाई हे¥यौँ पटक–पटक, नयाँ शक्तिलाई हेरौँ यसपटक ।’ अवश्य पनि तपाईंले यसमा विशेष ध्यान दिनुहुनेछ ।

तपाईं हामीलाई थाहै छ, जिल्लामा विकासको बजेट कति आउँछ र त्यसको प्रतिफल हामीले कति पाएका छौँ । यो भन्नैपर्छ कि, हामीलाई बजेटको अभाव होइन, समस्या पारदर्शिता र जवाफदेहिताको हो । ठीक तरिकाले योजना कार्यान्वयन र पारदर्शी खर्च व्यवस्थापनको खाँचो हो । बजेट आउँदा आउँदै पनि प्रतिफल नदिने समस्या कसले निम्त्याएको हो ? तपाईं हामी परिचित नै छौँ । बजेटको उच्चतम सदुपयोग गरे मात्र सही अर्थमा समस्याको सम्बोधन हुनसक्छ । तर पुराना पार्टीका नेताले बजेटलाई कमाउने मेसो बनाए, स्थानीय नेताको जीवनशैली र कार्यशैलीबाट प्रष्टै हुन्छ र तपाईं हामी परिचित नै छौँ । विकासलाई जनताको आधारभूत मुद्दासँग जोड्नेभन्दा पनि आफ्नो निजी स्वार्थसँग जोड्ने काम भयो । विकास योजनालाई आम्दानीसँग जोड्नेहरूले हामीलाई शिकार बनाए । त्यसैले सही प्रतिनिधि चयन गरेर बजेटको सदुपयोग गरी विकासलाई जन आवश्यकताअनुसार अग्रगति दिने यो घडीमा तपाईं हामीले सही निर्णय गर्नैपर्छ । मलाई लाग्छ, यसपटक मौका गुमाउनु हुने छैन । यसैकारण हामीले नारा बनाएका छौँ, ‘नयाँ शक्तिको एउटै लक्ष्य, कालो धन र भ्रष्टाचारको अन्त्य ।’

आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू

संविधानले केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनवटा संरचनाको व्यवस्था गरेको छ । चुनावपछि स्थानीय तह कार्यान्वयनमा आइसकेको छ । अब प्रदेश र केन्द्रीय सरकार पनि बन्दैछ । तीन तहका सरकारका आआफ्ना काम छन् । त्यसकारण प्रतिनिधि सभाको एक सांसदले अन्यको क्षेत्राधिकार नमिची गर्ने काम निश्चित हुन्छन् । तिनै काममाथि मेरो नजर र चासो छ । यसका लागि जिल्लामा गर्न सकिने केही काम मैले सोचेको छु ।

आर्थिक समृद्धि हाम्रो पार्टीको समग्र नारा छ र यहीँ नाराभित्र अर्घाखाँचीमा अधिकतम काम गर्ने मेरो सोच छ । आजका दिनमा अर्घाखाँचीमा एउटा बृहत् चक्रपथको खाँचो छ । जलुके–सिद्धारा– ठाडा– सिमलपानी– सुवर्णखाल– मैदान– पटौटी– पोखराथोक– पणेना– खिदिम– पाली– चिदिका– बल्कोट– केरुङ्गा– छत्रगन्ज– भगवती– मरेङ– अर्घातोष– खनदह– खन– बाँगी– हंसपुर– गोखुङ्गा– ढाकावाङ– असुरकोट– खिल्जी– नुवाकोट– धनचौर– जुकेनालाई जोड्ने गरी चक्रपथ बनाउन मैले काम गर्नेछु । यसबाहेक रिडी, बलकोट, सन्धिखर्क, धारापानी, ढाकावाङ हुँदै प्यूठान जोड्ने दुई लेनको पक्की सडक निर्माणको काम पूरा गरिनेछ ।

सालझन्डी, सन्धिखर्क र ढोरपाटन सडक दुई वर्षमा सम्पन्न गर्ने गरी विशेष पहल हुनेछ । सालझन्डी, अर्घाखाँची, तम्घास सडक पनि दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढाइनेछ । गोरुसिङ्गे, सन्धिखर्क सडक दुई लेनको बनाइनेछ । सन्धिखर्कमा निर्माण गर्ने भनिएको विमानस्थल तीव्र गतिमा निर्माण गर्नका लागि आवश्यक सम्पूर्ण पहल गर्नेछु ।

जिल्लाका ऐतिहासिक र धार्मिक महत्वका ठाउँको संरक्षण, संवद्र्धन, प्रचार प्रसार र विकासमा विशेष जोड दिइनेछ । निहाली, लोहोरी र खाँचीकोटमा भ्यु टावर बनाइनेछ । सुपा देउराली नरपानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी ठोस योजना तयार पारिनेछ । सुपादेउरालीमा बन्जिजम्प बनाउने योजना अगाडि बढाइनेछ । जिल्लाका पुरातात्विक सम्पदा, संस्कृति र जात्रा पर्वको संरक्षण गर्न ठोस कार्यक्रम तयार पारिनेछ । हरिहर संस्कृत माविलाई संस्कृत विश्वविद्यालयका रूपमा विकास गरिनेछ ।

हाम्रो नारा नै छ ‘हामी सबैको एउटै रहर, धुवाँधुलो रहित हराभरा सहर’ । यही सोच जिल्लामा लागू गर्न बाँगीखोला, घोंचेखोला, भद्रीखोलामा ग्रिनरीसहितको करिडोर बनाइनेछ । सन्धिखर्कको टुँडिखेलमा प्याराफिट र कर्भडहल बनाइनेछ । नौमुरे जलविद्युत आयोजना अगाडि बढाउन पहल हुनेछ । वन संरक्षणमा ठोस काम गर्ने गरिनेछ र जिल्लाको वन क्षेत्रलाई उपयोग गरी एउटा ठूलो निर्यातमूलक प्लाइउड उद्योग स्थापना गरिनेछ । राज्य वा निजी क्षेत्रबाट जिल्लामा दुईवटा ठूला सिमेन्ट उद्योग स्थापना गरी चार हजार स्थानीय युवालाई रोजगारी दिइनेछ । कृषि उपजको भण्डारणका लागि एउटा कोल्ड स्टोर (चिस्यान केन्द्र) स्थापना गर्ने, सरकारी र निजी क्षेत्रको लगानीमा ह्याचरी र दाना उद्योग स्थापना गरी कुखुरा र अण्डाको निर्यात गर्ने वातावरण बनाउने र यस्ता उद्योग सहकारीको माध्यमबाट चलाउन संरचना बनाइनेछ ।

आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू

तपाईंले जिताएर पठाएपछि अवश्य पनि राष्ट्रिय महत्वको मुद्दामा मेरो भूमिका देखिनुपर्छ । यसका लागि पनि म पूरै सचेत छु । खास गरेर, जनपक्षीय नीति निर्माणका लागि म जस्तो सुकै परिस्थितिको सामना गर्न तयार हुनेछु । नयाँ युगको सोच, नयाँ नयाँको विचार र आवश्यकता अनुसार नेतृत्व लिन पछाडि पर्नेछैन ।

राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवम् स्वाभिमान रक्षामा सांसदको हैसियतमा भूमिका प्रभावकारी बनाउन कुनै कसर छोड्ने छैन । लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरण गर्ने मेरो अठोट छ । समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माणका लागि सम्पूर्ण शक्ति लगाउनेछु । मजदुर, किसान, श्रमजीवी, दलित, महिला, जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित समुदाय र पिछडिएका क्षेत्रका जनताको अधिकार र हितका पक्षमा लड्न प्रतिबद्ध छु ।

राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचा दुवै बदल्नुपर्छ । नयाँ मोडेलको खोजी र विकास गर्ने नयाँ राजनीतिक कोर्स निर्माण आजको आवश्यकता हो । देशलाई पाँच वर्षभित्र अल्पविकसित देशको समूहबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यम आयस्तर भएको देश बनाउने र २५ वर्षभित्र विकसित मुलुकको हाराहारीमा समृद्धि हासिल गर्ने नयाँ शक्तिको सङ्कल्प कार्यान्वयन गर्ने भूमिकामा अर्घाखाँचीलाई अग्रस्थानमा रहनेछ भन्ने मेरो पूर्ण विश्वास छ ।

गरिबीको चक्रव्यूहमा फसेको समाजलाई समृद्धिमा लैजाने हो । त्यसैले हामीले ‘सबैका लागि समृद्धि’ भनेका हाँैं । राजनीति र सरकारी सेवालाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासन र सदाचार कायम गर्ने अभियानमा दृढतापूर्वक अगाडि बढाइनेछ । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको शासकीय व्यवस्थाका लागि गरिने सदन र सडक सङ्घर्षमा म अगाडि नै रहनेछु । नेपाललाई दुई छिमेकीको गतिशील पुल बनाउने राजनीतिक अभियान सफल पार्न मेरो सक्दो सहयोगी भूमिका रहनेछ ।

हाम्रो राजनीतिक व्यवस्था र नेतृत्वको अक्षमताले आजसम्म देशबाट ५०औँ लाख युवा कामको खोजीमा देश बाहिर छन् । हाम्रो जिल्लाका पनि धेरै युवा विदेशमा छन् । काम वा अध्ययनका लागि विदेशमा रहेका नेपालीमा नेपालको राजनीतिक भविष्य निर्माणमा निर्णायक भूमिका खेल्ने तीव्र इच्छा छ । त्यसैले उनीहरूको मताधिकार सुनिश्चत गर्ने विषयमा मैले आवश्यक पहल लिनेछु ।

‘अरूले गर्छन् कुरा, हामी गर्छौँ पूरा ।’ मैले कुरा मात्रै होइन काम पनि गर्नेछु, त्यसका लागि मलाई मौकाको खाँचो छ र त्यो तपाईंको हातमा छ । त्यसैले अन्त्यमा यसपालि तपाईंले चुनाव चिन्ह आँखामा छाप लगाई नयाँ शक्ति पार्टी नेपालको अर्घाखाँचीबाट प्रतिनिधि सभाको उम्मेदवार म छन्द पन्थीलाई अत्याधिक मत दिई विजयी बनाउनु हुन विशेष अनुरोध गर्दछु ।