अर्घाखाँची कांग्रेसका १० जना नेतालाई पार्टीले गर्‍यो कारबाही - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

अर्घाखाँची कांग्रेसका १० जना नेतालाई पार्टीले गर्‍यो कारबाही



बुटवल- अर्घाखाँचीमा नेपाली कांग्रेसले १० जना नेतालाई निलम्बन गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा १० जनालाई निलम्बन गरेको हो ।

कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलसहितको टोलीलाई निलम्बन गरेको पार्टीका प्रचार विभाग प्रमुख सूर्य भुसालले जानकारी दिएका छन् ।

निलम्बन हुनेमा नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल, भूमिकास्थान नगरसचिव ताराप्रसाद घिमिरे, पाणिनी गाउँपालिका–६ धातीवाङका वडा सभापति मोदनाथ पौडेल, पाणिनी–८ का पूर्वसभापति यज्ञप्रसाद पौडेल, पूर्वजिल्ला सदस्य एवं भूमिकास्थान नगरपालिका–९ ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णुप्रसाद मरासिनी र हरिप्रसाद मरासिनी रहेका छन् ।

त्यस्तै, महाधिवेशन प्रतिनिधि सिर्जना विक र पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई पनि निलम्बन गरिएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा जिम्मेवार पदमा बसेकाहरूबाटै पार्टीलाई अन्तर्घात गरेको भन्दै पहिलो चरणमा २० जनालाई अनुशासन विभागले स्पष्टीकरण सोधेको थियो ।

यता निलम्बनमा परेका जिल्ला उपसभापति पौडेलसहितका नेताहरूले भने कारबाही नमान्ने बताएका छन् ।