अर्बौं रुपैयाँ पर्ने सरकारी जग्गा आफ्नो स्वामित्वमा ल्याएर बिक्री - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अर्बौं रुपैयाँ पर्ने सरकारी जग्गा आफ्नो स्वामित्वमा ल्याएर बिक्री



काठमाडौं । एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन् ।

सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकीलगायत मन्दिरको करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेका छन् । उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य तीन अर्ब २३ करोड रुपैयाँ पर्छ ।

नागरिकलाई प्राप्त कागजातअनुसार जगन्नाथले धनुषामा करिब पाँच बिघा र रुपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेको भेटिएको छ । चलनचल्तीको मूल्यअनुसार धनुषाको जग्गाको मूल्य करिब तीन अर्ब र रुपन्देहीको जमिनको मूल्य करिब २३ करोड पर्छ ।

मन्दिरका गुरु कौशल किशोरको मृत्युपछि उनका चेला जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। गुठी संस्थानको हेलचक्र्याइँका कारण महन्तले सरकारी जमिनमा रजाइँ गर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेल र सुरेश यादवले लेखेका छन् ।